काठमाडौं - निर्वाचन आयोग ले फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनको खर्च विवरण सार्वजनिक गरेको छ। आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराई ले विज्ञप्तिमार्फत उक्त जानकारी दिएका हुन्।
आयोगका अनुसार निर्वाचनका लागि नेपाल सरकारले ६ अर्ब ७१ करोड ९२ लाख ८७ हजार २ सय रुपैयाँ बजेट उपलब्ध गराएको थियो। तर, निर्वाचन सम्पन्न गर्न भने ४ अर्ब ९६ करोड ७८ लाख ३९ हजार ४५ रुपैयाँ मात्रै खर्च भएको जनाइएको छ।
यस आधारमा हेर्दा, आयोगले विनियोजित बजेटभन्दा कम खर्चमा निर्वाचन सम्पन्न गरेको देखिन्छ।
त्यसैगरी, आयोगका अनुसार उक्त निर्वाचनमा कुल १ करोड ८९ लाख ३ हजार ८९ जना मतदाता रहेका थिए। खर्चको हिसाब गर्दा एक मतदातामाथि औसत २६३ रुपैयाँ खर्च भएको निष्कर्ष निकालिएको छ।