पर्सा । वीरगंज भन्सार कार्यालयले चालु आर्थिक वर्षको दुई महिनामा ३९ अर्ब १५ करोड ५५ लाख राजस्व संकलन गरेको छ।
भन्सार विभागले सो अवधिमा ४३ अर्ब तीन करोड राजस्व संकलन गर्ने लक्ष्य तोकेकोमा वीरगंज भन्सारले लक्ष्यको ९० दशमलव ९९ प्रतिशत पुरा गरेको हो।
भन्सार प्रशासक विष्णुप्रसाद ज्ञवालीका अनुसार भदौ महिनामा विषम परिस्थितिमा पनि राजस्व संकलन उत्साहजनक बनेको छ। उनले भने, “साउन महिनामा कार्यालयले १८ अर्ब ४४ करोड राजस्व संकलन गरेको थियो। जेनजी आन्दोलनका कारण भदौ महिनाको एक दिन राजस्व संकलन ठप्प भए पनि लक्ष्य नजिक पुग्न सफल भयौं।”
कार्यालयले भदौ महिनामा मात्रै २० अर्ब १२ करोड राजस्व संकलन गरेको छ, जुन मासिक लक्ष्यको ९३ दशमलव ९७ प्रतिशत हो। यस अवधिमा भदौ १२ गते दुई अर्ब ३७ करोड, भदौ १७ गते एक अर्ब ९२ करोड, भदौ २८ गते एक अर्ब ७१ करोड र भदौ ३१ गते एक अर्ब ११ करोड राजस्व संकलन भएको छ।
तर जेनजी आन्दोलनका कारण भदौ २४ गते जम्मा तीन करोड र २५ गते शून्य राजस्व संकलन भएको थियो। त्यस्तै भदौ २६ गते छ करोड र भदौ २७ गते ११ करोड राजस्व संकलन गरिएको कार्यालयले जनाएको छ।