काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभाबाट मन्त्रिपरिषद् गठन गर्ने उपाय नभएपछि आम सहमतिले संकटबाट निकास दिएको सबैले बुझ्नुपर्नेमा जोड दिँदै छ महिनाभित्र चुनाव सम्पन्न गर्न आह्वान गरेका छन्। संविधान दिवस २०८२ का अवसरमा राष्ट्रपति कार्यालयमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै उनले सबै राजनीतिक दल, प्रशासनिक निकाय, बौद्धिक समुदाय र नागरिकलाई असहमति र द्वन्द्व त्यागी समन्वय र सहकार्यसाथ निर्वाचन सफल बनाउन क्रियाशील बन्न आग्रह गरे।
राष्ट्रपति पौडेलले संविधानले नेपाली जनतालाई सर्वभौमसत्ता, स्वतन्त्रता र समान हक दिएको स्मरण गराउँदै यसको रक्षा सबैले गर्नुपर्ने बताए। उनले लोकतन्त्र हरेक पुस्ताको सक्रिय सहभागिताले बलियो हुने विश्वास व्यक्त गर्दै आफू पनि २०१७ सालमा प्रजातन्त्रका लागि १७ वर्षको उमेरमै राजनीतिमा होमिएको स्मरण गरे।
भदौ २४ पछि उत्पन्न राजनीतिक अप्ठ्यारो व्यवस्थापन गर्ने जिम्मेवारीमा आफूलाई परिस्थितिले ल्याएको उल्लेख गर्दै उनले सबैको सुझबुझ र सहयोगका कारण असहजतालाई सम्हाल्न सफल भएको बताए। उनले लोकतन्त्र र सुशासनप्रति प्रतिबद्ध रहँदै राजनीति, राज्य र शासनलाई नैतिकता र मूल्य मान्यताको सीमाभित्र राख्नुपर्नेमा जोड दिए।
राष्ट्रपतिले राजनीतिक दल, सरकार, राज्यका निकाय र आमनागरिक सबै मिलेर संविधानलाई अझ जीवन्त, न्यायपूर्ण र भविष्यमुखी बनाउनुपर्ने बताए। उनले नयाँ जनादेशले लोकतन्त्रलाई संस्थागत गर्दै मुलुकको आगामी बाटो तय गर्ने दृढ विश्वास व्यक्त गरे। साथै अन्तरिम सरकारले राष्ट्रिय क्षतिको पुनर्निर्माण गर्दै ६ महिनाभित्र निर्वाचन सम्पन्न गरी जनप्रतिनिधि संस्थालाई सत्ता हस्तान्तरण गर्ने बताउँदै यो सबै नेपालीको साझा कार्यभार भएको स्पष्ट पारे।
हालैको विरोध प्रदर्शनमा अकल्पनीय क्षति भएको उल्लेख गर्दै उनले ज्यान गुमाएका युवाका अभिभावकको पीडा अनुभव गरेको बताए। संविधान दिवसका दिन मुलुकमा परिवर्तन र उज्ज्वल भविष्यको आशा बोकेर सडकमा आएका ती युवाको सदिच्छा स्मरण गर्नुपर्ने उनले बताए।
राष्ट्रपतिले नेपालको संस्कृति, प्रकृति र भौगोलिक विविधतामा असीम सम्भावना रहेको बताउँदै यसलाई न्यायोचित उपयोग गर्न सके जीवनस्तरमा रूपान्तरण ल्याउन सकिने धारणा राखे। उनले संविधानले मार्गदर्शन गर्ने समाजवाद उन्मुख अर्थतन्त्रको लक्ष्य प्राप्तिका लागि समान पहुँच, सामाजिक सुरक्षा र समावेशी विकासलाई गति दिनुपर्नेमा जोड दिए।
अन्त्यमा उनले भ्रष्टाचार र बेथितिको अन्त्य, रोजगारी सिर्जना, सुशासन, वातावरणीय दिगोपन र सामाजिक न्यायलाई प्राथमिकतामा राख्न सके मात्र संविधानले परिकल्पना गरेको समृद्ध नेपाल सम्भव हुने बताए। विशेषतः जेन्जी पुस्ताले उठाएका प्रश्नलाई सम्बोधन गर्दै सबैलाई सुध्रिएर अघि बढ्ने अठोट गर्न उनले आग्रह गरे।