काठमाडौँ — सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि कुल १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ। बजेट अनुसार ११ खर्ब ८० अर्ब ५८ करोड रुपैयाँ (६०.०१ प्रतिशत) चालु खर्चका लागि, ४ खर्ब ७ अर्ब ६९ करोड पूँजीगत खर्चका लागि र ३ खर्ब ७५ अर्ब २४ करोड रुपैयाँ (१९.१ प्रतिशत) वित्त व्यवस्थापनतर्फ विनियोजन गरिएको छ।
यो विनियोजन चालु आर्थिक वर्षको प्रारम्भिक बजेटभन्दा ५.६ प्रतिशतले र संशोधित बजेटभन्दा १८.२ प्रतिशतले बढी हो। चालु आव २०८१/८२ मा सरकारले १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँको बजेट विनियोजन गरेको थियो।
आगामी वर्षको बजेट कार्यान्वयनका लागि सरकारको अनुमानित स्रोतमध्ये १३ खर्ब १५ अर्ब रुपैयाँ राजस्वबाट, ३ खर्ब ६२ अर्ब आन्तरिक ऋणबाट, २ खर्ब ३३ अर्ब बाह्य ऋणबाट तथा ५३ अर्ब रुपैयाँ अनुदानबाट जुटाइने लक्ष्य राखिएको छ।