नैतिक शिक्षा र पुस्तान्तरणका प्रश्न उठाउने नाटक ‘यशस्वी भव:’ प्रदर्शन सुरु

काठमाडौँको थापागाउँस्थित कुञ्ज नाटकघर, शिल्पशाला—थापागाउँ नयाँ बानेश्वरमा मेधाश्री विद्यालयले तयार पारेको नाटक ‘यशस्वी भव:’ मंसिर २३ गतेदेखि औपचारिक रूपमा मञ्चन सुरु भएको छ। नाटक एक सातासम्म निरन्तर चल्ने कार्यक्रमअनुसार मंसिर २८ गतेसम्म प्रदर्शन हुनेछ।

समाजमा घट्दै गएको नैतिक मूल्य, जिम्मेवारीप्रतिको चेतना र सामाजिक दायित्वलाई केन्द्रमा राखेर निर्माण गरिएको यो नाटकले तीन पुस्ताबीचको सोच, जीवनशैली र भावनात्मक सम्बन्धलाई कलात्मक रूपमा उजागर गर्छ। प्रतीक र रूपकको सहायताले प्रस्तुत गरिएको कथाले आधुनिक समाजका मानिस शिक्षित भएर भावनाहीन बन्दै गइरहेका छन् कि भावनाहीन भएर मात्र शिक्षित देखिन्छन् भन्ने जिज्ञासा दर्शकमा उत्पन्न गर्छ।

रङ्गकर्मी तथा नाटककार राम के.ए.सी. को लेखन–निर्देशनमा तयार भएको यो नाटकमा किरण चापागाईं सहनिर्देशकका रूपमा काम गरेका छन्। सद्भाव थिएटर नेपालको “शिक्षाका लागि रङ्गमञ्च” अभियानअन्तर्गत मेधाश्री विद्यालयसँगको सहकार्यमा नाटक निर्माण गरिएको हो।

नाटकमा कृषा बागदाश, शोभी तामाङ, प्रकृत खड्का, रियाज पराजुली, स्मारिका विश्वकर्मा, अव्यक्त राजवाहक, सदिक्षा तामाङ, कृतिका चौधरी, रियान बस्नेत, जयश्री खड्गी, अनुष्का निरौला, दिव्यांशा ताम्राकार र बिप्रीना शाही लगायतका कलाकारले भूमिका निर्वाह गरेका छन्।

‘यशस्वी भव:’ हरेक दिन बिहान ११:०० बजे र दिउँसो २:०० बजे दुई शोमा मञ्चन हुँदैछ। अभिभावकले आफ्ना बालबालिकासँगै हेर्नुपर्छ भन्ने सन्देश बोकेको नाटकका लागि विद्यालय र कलेजका साथै सर्वसाधारण दर्शकका लागि टिकट मूल्य रु ३०० र रु ५०० राखिएको छ।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय