काठमाडौँ । काठमाडौँ जिल्ला अदालतले रवि लामिछाने विरुद्ध दायर गरिएको सङ्गठित अपराधसम्बन्धी कसुर फिर्ता लिन अनुमति दिएको छ।
जिल्ला अदालतका न्यायाधीश आत्मदेव जोशी को इजलासले शुक्रबार उक्त आदेश जारी गरेको हो।
सहकारी ठगी तथा सङ्गठित अपराधसम्बन्धी अभियोगमा अनुसन्धान भइरहेका बेला जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौँले लामिछानेको हकमा सङ्गठित अपराधको अभियोग हटाउन माग गर्दै अभियोगपत्र संशोधनका लागि निवेदन दर्ता गरेको थियो। सुमन खनालसहितका व्यक्तिको जाहेरीका आधारमा दर्ता भएको मुद्दामा सरकारी वकिलको निवेदनमाथि सुनुवाइ गर्दै अदालतले अनुमति प्रदान गरेको हो।
अदालतले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ३६ अनुसार लामिछानेसहितका प्रतिवादीमाथि लगाइएको सङ्गठित अपराधको अभियोग फिर्ता लिन वा हटाउन स्वीकृति दिएको जनाएको छ।
यद्यपि, सहकारी ठगीसँग सम्बन्धित अन्य अभियोग तथा मुद्दाको कानुनी प्रक्रिया भने यथावत् रहने अदालतले स्पष्ट गरेको छ।