निसर्ग बाटिका स्कूलमा ‘निसर्ग वारियर्स बास्केटबल लिग’ आयोजना हुने

काठमाडौं । निसर्ग बाटिका स्कूल ले “प्रथम निसर्ग वारियर्स बास्केटबल लिग च्याम्पियनसिप २०२६” आयोजना गर्ने भएको छ । अन्तर–विद्यालयस्तरीय यस प्रतियोगिताले काठमाडौंका युवा खेलाडीलाई व्यवस्थित र प्रतिस्पर्धात्मक बास्केटबल प्रतियोगितामा सहभागी हुने अवसर प्रदान गर्ने विद्यालयले जनाएको छ ।

प्रतियोगिता मे २३ देखि जुन २१, २०२६ (जेष्ठ ९ देखि आषाढ ७, २०८३) सम्म सञ्चालन हुनेछ । खेलहरू माछागेटस्थित निसर्गको बास्केटबल कोर्ट तथा हाई स्कूल बास्केटबल कोर्टमा आयोजना गरिनेछन् ।

प्रतियोगितामा आठ विद्यालयको सहभागिता रहनेछ । सबै टोलीले “राउण्ड रोबिन लिग” प्रणालीअनुसार एक–अर्काविरुद्ध प्रतिस्पर्धा गर्नेछन् भने विजेताको टुंगो प्राप्त अंकका आधारमा लगाइनेछ । आयोजकका अनुसार सम्पूर्ण खेलहरू आधिकारिक FIBA नियम र मापदण्डअनुसार सञ्चालन गरिनेछन् ।

विद्यालयले प्रतियोगिताले विद्यार्थी खेलाडीलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने, खेल कौशल विकास गर्ने तथा प्रतिस्पर्धात्मक वातावरणमा अनुभव हासिल गर्ने अवसर दिने विश्वास लिएको छ । साथै, विद्यालयहरूबीच आपसी सम्मान र दीर्घकालीन सम्बन्ध निर्माणमा समेत यसले सहयोग पुग्ने बताइएको छ ।

“यस च्याम्पियनसिपमार्फत युवा खेलाडीले अनुशासनसहित प्रतिस्पर्धा गर्न, नेतृत्व क्षमता विकास गर्न तथा जित–हार दुवैबाट सिक्न सकून् भन्ने हाम्रो उद्देश्य हो,” विद्यालयका एक प्रतिनिधिले बताएका छन् ।

आयोजकका अनुसार प्रतियोगिताको मुख्य उद्देश्य नेपालको बास्केटबल क्षेत्रको भविष्यमा लगानी गर्दै युवा खेलाडीलाई अर्थपूर्ण अवसर उपलब्ध गराउनु र खेलप्रति गम्भीर संस्कृतिको विकास गर्नु हो ।

प्रतिक्रिया