आर्टेमिस–२ सफल, अन्तरिक्ष यात्री सुरक्षित पृथ्वी फर्किए

काठमाडौं । अमेरिकी अन्तरिक्ष यान आर्टेमिस–२ का अन्तरिक्ष यात्रीहरू सफलतापूर्वक आफ्नो मिसन पूरा गरी पृथ्वीमा सुरक्षित फर्किएका छन् ।

१० दिने अभियान सम्पन्न गर्दै टोली शनिबार बिहान अमेरिकाको क्यालिफोर्नियास्थित सान डिएगो नजिक प्रशान्त महासागरमा अवतरण गरेको हो । वायुमण्डलमा पुनः प्रवेश गर्ने क्रममा उनीहरूले करिब ६ मिनेट सञ्चार अवरोधको सामना गरेका थिए । अवतरणपछि मिसन कमान्डर रीड वाइजम्यानले सम्पूर्ण टोली सुरक्षित रहेको जानकारी दिएका छन् ।

अभियानका क्रममा आर्टेमिस–२ टोलीले चन्द्रमाको अर्को पाटो (फार साइड) करिब ६ हजार किलोमिटर नजिकबाट अवलोकन गरेको थियो । यो मिसनअन्तर्गत फ्लोरिडाबाट चार जना अन्तरिक्ष यात्री अन्तरिक्षतर्फ प्रस्थान गरेका थिए । ५४ वर्षपछि मानवयुक्त टोली चन्द्रमाको परिक्रमा गर्न पुगेको हो ।

यस अभियानले मानव जाति पृथ्वीबाट सबैभन्दा टाढा पुगेको नयाँ कीर्तिमान पनि कायम गरेको छ । चन्द्रमाको अँध्यारो तथा अत्यधिक चिसो दक्षिणी ध्रुवीय क्षेत्रमा पुग्दा केही समय पृथ्वीसँग सम्पर्क पूर्ण रूपमा टुटेको थियो ।

आर्टेमिस–२ अभियानको प्रत्यक्ष प्रसारण विश्वभर ठूलो संख्यामा हेरिएको प्रारम्भिक अनुमान गरिएको छ । नासाको वेबसाइटसहित युट्युब, फेसबुक, एक्स, नेटफ्लिक्स र डिज्नी जस्ता प्लेटफर्ममार्फत झन्डै ४ लाख किलोमिटर टाढाबाट फोर–के गुणस्तरमा लाइभ प्रसारण गरिएको थियो ।

यसअघि अपोलो–११ अभियानमार्फत नील आर्मस्ट्रङ र बज एल्ड्रिनले चन्द्रमामा पाइला टेक्दा करिब ६५ करोड दर्शकले प्रत्यक्ष हेरेको अनुमान गरिएको थियो ।

प्रतिक्रिया