काठमाडौँ । निर्माणाधीन नारायणघाट–बुटवल सडकखण्डको दाउन्ने क्षेत्रमा दुई महिनासम्म सडक एकतर्फी सञ्चालनमा रहने भएको छ। सडक विभाग अन्तर्गतको आयोजना निर्देशनालयले सोमबार सार्वजनिक गरेको सूचनामा आगामी पौष १५ गतेसम्म उक्त खण्डमा एकतर्फी आवागमन हुने जनाइएको छ।
विगत केही दिनयता परेको लगातार वर्षाका कारण सडक सतह चिप्लो बनेपछि यातायात सञ्चालनमा कठिनाइ भएको निर्देशनालयले जनाएको छ। कल्भर्ट निर्माण कार्य जारी रहेकाले पूर्ण रूपमा दुईतर्फी यातायात सञ्चालन गर्न नसकिने र पुनः वर्षा भएमा थप समस्या आउन सक्ने चेतावनी समेत दिइएको छ।
निर्देशनालयले यात्रु र सवारी चालकहरूलाई यात्राअघि सडकको अद्यावधिक अवस्था थाहा लिएर मात्रै यात्रा गर्न आग्रह गरेको छ। साथै, सडक अवरुद्ध हुने अवस्थामा वैकल्पिक मार्ग प्रयोग गर्न सकिने पनि बताइएको छ।
वैकल्पिक मार्गका रूपमा पूर्व–पश्चिम राजमार्ग हुँदै नारायणघाट–मुग्लिन–पोखरा–स्याङ्जा–पाल्पा–बुटवल वा कालिगण्डकी चौक (गैंडाकोट)–रामपुर–पिपलडाँडा–पाल्पा–बुटवल मार्ग प्रयोग गर्न सकिने निर्देशनालयले जनाएको छ।
त्यस्तै, काठमाडौंबाट बर्दघाट वा बुटवल जाने सवारीका लागि काठमाडौं–मुग्लिन–पोखरा–स्याङ्जा–पाल्पा–बुटवल मार्ग सिफारिस गरिएको छ। दुई पाङ्ग्रे तथा ४WD सवारीका लागि दुम्कीवास–ज्यामरे–डाँडाचोक–उमार हुँदै भुताहा मार्ग पनि प्रयोग गर्न सकिने जानकारी दिइएको छ।
निर्देशनालयले यात्रुहरूको सुरक्षाका लागि आवश्यक सतर्कता अपनाउन र निर्माण सम्पन्न नहुन्जेल वैकल्पिक मार्गलाई प्राथमिकता दिन सुझाव दिएको छ।