चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चौमासामा नेपालले ३६ अर्ब ६८ करोड रुपैयाँभन्दा बढी वैदेशिक लगानी (एफडीआई) प्रतिवद्धता प्राप्त गरेको छ। कातिक महिनासम्म विभिन्न ८ उद्योग समूहमा जम्मा ३८२ वटा परियोजना दर्ता भएका छन्। उद्योग विभागले प्रकाशित तथ्यांकअनुसार सबैभन्दा धेरै परियोजना सूचना तथा सञ्चार प्रविधि (आईसीटी) क्षेत्रमा दर्ता भए पनि लगानी रकम भने तुलनात्मक रूपमा कम छ। आईसीटी क्षेत्रका २०५ परियोजनाले जम्मा करिब ८७ करोड ४३ लाख रुपैयाँ बराबरको एफडीआई प्रतिवद्धता आकर्षित गरेका छन्।
यस वर्ष सबैभन्दा धेरै लगानी रकम कृषि तथा वनआधारित उद्योगमा प्रवेश गरेको छ। कुल १३ उद्योगका लागि २१ अर्ब ८८ करोड रुपैयाँभन्दा बढी लगानी स्वीकृत गरिएको विभागले जनाएको छ। पर्यटन क्षेत्रले पनि उल्लेख्य आकर्षण पाएको छ, जसअन्तर्गत ११८ उद्योगका लागि ८ अर्ब ९४ करोड रुपैयाँ बराबरको वैदेशिक लगानी प्रतिवद्धता आएको छ। यस्तै सेवा क्षेत्रका २३ उद्योगले ३ अर्ब ९ करोड, उत्पादनमूलक २१ उद्योगले १ अर्ब ६५ करोड, ऊर्जामूलक १ उद्योगले १८ करोड तथा खानी क्षेत्रका १ उद्योगले ४५ लाख रुपैयाँ वैदेशिक लगानी प्रतिवद्धता पाएका छन्।
केवल कातिक महिनामा मात्र विदेशी लगानी प्रतिवद्धता १ अर्ब ५४ करोड ३९ लाख रुपैयाँ पुगेको छ। सो महिनामा कुल ७१ उद्योगका लागि करिब साढे १ अर्ब रुपैयाँ बराबरको एफडीआई स्वीकृत भएको उद्योग विभागले जनाएको छ।