देशभित्रै विश्वविद्यालय, कलेज तथा शैक्षिक संस्था सुविधा सम्पन्न हुँदै गए पनि विद्यार्थीहरूको विदेशिने क्रम रोकिएको छैन। नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको तथ्याङ्कअनुसार चालु आवको पहिलो महिनामै अध्ययनका लागि १४ अर्ब ३१ करोड रुपैयाँ विदेशिएको छ। यो रकम अघिल्लो वर्षको सोही अवधिमा विदेशिएको १४ अर्ब ९६ करोड रुपैयाँभन्दा थोरै कम हो।
त्यसैगरी समीक्षा अवधिमा सेवा खाताअन्तर्गत भ्रमण व्यय २.८ प्रतिशतले घटेर २१ अर्ब ७० करोड पुगेको छ। गत वर्षको सोही अवधिमा यो खर्च २२ अर्ब ३२ करोड थियो।
नेपाल राष्ट्र बैंकका अनुसार समीक्षा अवधिमा खुद सेवा आय १३ अर्ब ३९ करोडले घाटामा रहेको छ। अघिल्लो वर्ष यो घाटा १५ अर्ब छ करोड रुपैयाँ थियो। तर भ्रमण आय भने १२.७ प्रतिशतले बढेर पाँच अर्ब ३८ करोड पुगेको छ। अघिल्लो वर्ष सोही अवधिमा यो आय चार अर्ब ७७ करोड मात्र थियो।