काठमाडौँ — उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्षको बजेट ६ प्रतिशतको आर्थिक वृद्धिदर हुने लक्ष्यसहित प्रस्तुत गरिएको बताएका छन्। शनिबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज) द्वारा आयोजित पोस्ट बजेट छलफल कार्यक्रममा बोल्दै उनले बजेट सकारात्मक प्रक्रियाबाट आएको हुँदा त्यसको कार्यान्वयन पनि प्रभावकारी हुने विश्वास व्यक्त गरे।
उनका अनुसार अघिल्लो वर्ष ७.५ प्रतिशतको आर्थिक वृद्धि भएको अनुभवका आधारमा यो वर्ष ६ प्रतिशतको लक्ष्य प्राप्ति सम्भव छ। बजेट निर्माणमा सिद्धान्तको पालना गर्दै स्रोत व्यवस्थापनको आधारमा तयार पारिएको र राजस्वको लक्ष्य पनि हासिल हुने विश्वास अर्थमन्त्रीले व्यक्त गरे।
पौडेलले भने, "बजेट सीमा भित्रै रही बनाइएको हो। आर्थिक वर्षको अन्त्यसम्म कसैले प्रश्न उठाउने स्थिति आउन नदिन सरकार प्रतिबद्ध छ।" राजस्व संकलन लक्ष्य अनुसार हासिल गर्न केही मेहनत आवश्यक रहेको उनले बताए। काम नगरी लक्ष्य प्राप्ति असम्भव भए पनि काम गरिएमा लक्ष्य सहजै प्राप्त हुने उनको भनाइ थियो।
सार्वजनिक ऋणप्रति चिन्ता व्यक्त गर्नुभन्दा पनि साँवा तथा ब्याज तिर्न सकिने हिसाबले ऋण व्यवस्थापन गरिएको र स्रोतको विषयमा चिन्ता नगर्न अर्थमन्त्री पौडेलले आग्रह गरे। उनले आर्थिक विज्ञहरूको सकारात्मक सुझावले आफू उत्साहित भएको पनि बताए।
साना योजनामा बजेट लोड गर्दा समस्या आएको पृष्ठभूमिमा यो बजेटले त्यसलाई सम्बोधन गरेको र खुद्रा योजनामा बजेट होसियारीपूर्वक विनियोजन गरिएको उनको भनाइ थियो। बजेटले निजी क्षेत्रलाई साथ दिने सन्देश दिएको र सरकार निजी क्षेत्रका सबै क्षेत्रलाई सम्बोधन गर्न काम गरिरहेको उनले स्पष्ट पारे।
सरकार निर्माण क्षेत्रका समस्या समाधान गर्न तयार रहेको, आवश्यक कानुनी संशोधनका लागि पहल गर्ने, आयोजना तोकिएको समयमा सम्पन्न गराउन सबै सहजीकरण गर्न तत्पर रहेको उनले बताए। साथै, वातावरणमा असर नपर्ने गरी खनिज पदार्थको प्रयोग गर्ने आवश्यकता बजेटले सम्बोधन गरेको पनि उनले स्पष्ट पारे।