नवयुवक आधारभूत विद्यालयको ४४औँ वार्षिकोत्सव सम्पन्न

काठेखोला गाउँपालिका–५ बिहुँकोटस्थित नवयुवक आधारभूत विद्यालयको ४४औँ वार्षिकोत्सव समारोह हिजो भव्य एवं सभ्य रूपमा सम्पन्न भएको छ।

समारोह काठेखोला गाउँपालिकाका उपाध्यक्ष तेजबहादुर थापा (तिलक)को प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। कार्यक्रममा काठेखोला गाउँपालिकाका शिक्षा अधिकृत रमा उचै तथा वडा नं. ५ का वडाध्यक्ष ज्ञाननाथ कँडेल विशिष्ट अतिथिका रूपमा उपस्थित रहेका थिए।

समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि उपाध्यक्ष थापाले शिक्षाको गुणस्तर अभिवृद्धिका लागि अभिभावक, शिक्षक र विद्यार्थीबीच पारस्परिक सम्बन्ध मजबुत हुनुपर्नेमा जोड दिनुभयो। उहाँले स्थानीय सरकारले विद्यालय र विद्यार्थीबीच देखिएका समस्याहरू पहिचान गरी ती समस्याहरू समाधानतर्फ लैजानुपर्ने आवश्यकता औंल्याउनुभयो।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक देवनारायण सापकोटाले विद्यालयको आर्थिक तथा शैक्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। सो अवसरमा शिक्षा अधिकृत रमा उचै, वडा अध्यक्ष ज्ञाननाथ कँडेल, कर्लिम आधारभूत विद्यालयका प्रधानाध्यापक लिलाधर कँडेल, विद्यालय व्यवस्थापन समितिका पूर्व सदस्य भूमिश्वर कँडेल तथा अभिभावक भरत सापकोटासहितका वक्ताहरूले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।

कार्यक्रमको स्वागत मन्तव्य शिक्षिका अमृता सुनारले प्रस्तुत गर्नुभएको थियो भने सञ्चालन शिक्षिका दुर्गा पुनले गर्नुभएको थियो। कार्यक्रम अभिभावक सङ्घका संयोजक बमबहादुर पुनको अध्यक्षतामा सम्पन्न भएको हो।

समारोहका अवसरमा विद्यालयबाट सरुवा भई जानुभएकी शिक्षिका लालमती थापालाई सम्मानपूर्वक विदाइ गर्दै “फेरि भेटौँला” कार्यक्रमसमेत आयोजना गरिएको थियो।

कार्यक्रममा विद्यालय व्यवस्थापन समिति, शिक्षक–अभिभावक सङ्घ, सल्लाहकार समिति, लेखा समिति, समाजसेवी, बुद्धिजीवी, पत्रकार, शिक्षक, अभिभावक तथा विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको विद्यालय प्रशासनले जनाएको छ। सबैको सक्रिय सहभागितामा कार्यक्रम मर्यादित, भव्य र सफलतापूर्वक सम्पन्न भएको स्पष्ट गरिएको छ।

प्रतिक्रिया