काठमाडाैं - वीरगञ्जको सिर्सिया सुक्खाबन्दरगाह भन्सार कार्यालयले चालु आर्थिक वर्षको तीन महिनामा रु १२ अर्ब ७५ करोड ७८ लाख २१ हजार राजस्व सङ्कलन गरेको छ। यस अवधिमा कार्यालयले कुल वार्षिक लक्ष्यको २१.२५ प्रतिशत राजस्व सङ्कलन गरेको हो।
सुक्खाबन्दरगाह भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत धनबहादुर बरुवालका अनुसार, गत आर्थिक वर्षको सोही तीन महिनाको तुलनामा चालु आवको तीन महिनामा राजस्व सङ्कलनमा रु २५ करोड ८४ लाख ११ हजारको कमी आएको छ।
बरुवालले चालु आवमा सवारीसाधन र मदिराजन्य पदार्थको आयातमा गिरावट आएकाले राजस्वमा प्रत्यक्ष असर परेको जनाएका छन्। उनले दसैंको समयमा पनि अपेक्षाकृत आयात नबढेकाले राजस्व लक्ष्य पूरा हुन नसकेको बताए।
कार्यालयले चालु आवको पहिलो महिना साउनमा मासिक लक्ष्यको ७९.२८ प्रतिशत अर्थात रु तीन अर्ब ७५ करोड २२ लाख ११ हजार राजस्व सङ्कलन गरेको थियो। भदौमा मासिक लक्ष्यको ८८.५० प्रतिशत अर्थात रु चार अर्ब ६४ करोड १९ लाख एक हजार राजस्व सङ्कलन गरिएको थियो। त्यस्तै असोजमा मासिक लक्ष्यको ९०.३१ प्रतिशत अर्थात रु चार अर्ब ३६ करोड ३७ लाख नौ हजार राजस्व सङ्कलन गरियो।
भन्सार कार्यालयका अनुसार, गत आर्थिक वर्षको असोज मसान्तसम्म रु १३ अर्ब ११ करोड ६२ लाख ३२ हजार राजस्व सङ्कलन भएको थियो।