बागलुङमा सडक निर्माण अलपत्र, स्थानीयद्वारा मङ्सिर १ देखि लोकमार्ग बन्दको चेतावनी

बागलुङ । मध्यपहाडी लोकमार्ग अन्तर्गत बागलुङको काठेखोला गाउँपालिका–५ बयलडाँडादेखि घोडाबाँधेसम्मको सडक निर्माण लामो समयदेखि अलपत्र परेपछि स्थानीयवासी आन्दोलित भएका छन्।

 

निर्माणमा ढिलासुस्ती भएको भन्दै आइतबार जनप्रतिनिधि र स्थानीयवासीले संयुक्त रूपमा जिल्ला प्रशासन कार्यालय, बागलुङमा ध्यानाकर्षण पत्र बुझाएका हुन्। प्रमुख जिल्ला अधिकारी कुमानसिँह गुरुङलाई बुझाइएको पत्रमा समयसीमा तोकेर निर्माण अघि नबढाए मङ्सिर १ गतेदेखि लोकमार्ग बन्द गर्ने चेतावनी दिइएको छ।

 

करीब १३ किलोमिटर लामो सडक निर्माणको जिम्मा ‘रिजाल तामाङ भगवती जेभी’ नामक निर्माण कम्पनीले २०८१ असारमा लिएको थियो। असार मसान्तसम्म काम सक्ने सम्झौता भए पनि हालसम्म १५ प्रतिशत पनि प्रगति नभएको स्थानीय भरत सापकोटाले बताए।

 

ध्यानाकर्षण पत्रमा कात्तिक मसान्तभित्र सडकका खाल्डाखुल्डी मर्मत गरी सब–बेस तयार गर्न, असार मसान्तसम्म कालोपत्र गर्न समय तालिका ल्याउन र प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा अनुगमन समिति गठन गर्न माग गरिएको छ। साथै, धूलोका कारण बस्नै कठिन भएको भन्दै दैनिक पानी छर्ने व्यवस्था गर्न पनि माग गरिएको छ।

 

माग पूरा नभए मङ्सिर १ गतेदेखि लोकमार्गको बिहुँ खण्ड बन्द गर्ने चेतावनी दिँदै, त्यसबाट उत्पन्न हुने परिस्थिति प्रति जिल्ला प्रशासन कार्यालय र आयोजना कार्यालय जिम्मेवार हुने चेतावनी पत्रमा उल्लेख गरिएको छ।

 

ध्यानाकर्षण पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी गुरुङले आयोजनाको कार्यालय, निर्माण कम्पनी र सरोकारवालाहरूसँग बैठक बोलाई समस्या समाधानका लागि पहल गर्ने बताए।

 

ट्र्याक खुलेको झन्डै दुई दशक बितिसक्दा पनि सडक कालोपत्र हुन नसकेको हो। यसअघि विसं २०७२ माघमा तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने सम्झौता एमपी–एससीएफ–ई सिसी जेभीसँग भएको थियो, तर काम नगरेपछि सम्झौता रद्द गरिएको थियो। नयाँ ठेक्का लागेको डेढ वर्ष बितिसक्दा पनि काम अघि नबढेपछि स्थानीय पुनः आन्दोलित बनेका हुन्।

 

स्थानीयवासीले पटक–पटक विरोध गरे पनि राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग निर्माणमा चरम ढिलासुस्ती देखिएको छ। समयमा कालोपत्र नहुँदा वर्षातमा हिलाम्मे र हिउँदमा धुलाम्मे सडकमा सवारीसाधन जोखिमपूर्ण रूपमा गुड्न बाध्य छन्। बागलुङ बजारदेखि अक्षेतेसम्मको केही भागमा भएको कालोपत्र पनि जीर्ण बनेको छ। निर्माण कम्पनीको लापरबाही र सरकारी अकर्मण्यताले यस राष्ट्रिय गौरवको आयोजना बदनाम बन्दै गएको स्थानीयवासीको गुनासो छ।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय