सूर्योदय वोमी लघुवित्तको एफपीओ बाँडफाँट बुधबार

काठमाडौं - सूर्योदय वोमी लघुवित्तको एफपीओ बुधबार (साउन १६ गते) बाँडफाँट गर्ने तयारी गरिएको छ। बिक्री प्रबन्धक कुमारी क्यापिटलका अनुसार बुधबार बिहान ८ बजे एफपीओ बाँडफाँट गरिनेछ। यस एफपीओ हात पार्न भाग्यकै भरपर्नु पर्नेछ, किनकि यसमा मागभन्दा ५१०.१३ गुणा बढी आवेदन परेको छ।

यसर्थ, गोलाप्रथाबाट एफपीओ बाँडफाँट हुनेछ। यसमा १६ लाख ५६ हजार ८२६ जनाले कुल २ करोड ३८ लाख ३७ हजार ९०० कित्ताको लागि आवेदन दिएका छन्, जसमा ४ हजार ६७२ जनाले मात्र सेयर हात पार्नेछन्। बाँकी १६ लाख ५२ हजार १५४ जनाको भने हात खाली हुनेछ।

सूर्योदय वोमी लघुवित्तले साउन ४ गतेदेखि ८ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँमा ४६ हजार ७२९ कित्ता एफपीओ बिक्रीमा ल्याएको थियो। बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ बमोजिम सर्वसाधारणको पुँजी संरचना ३० प्रतिशत कायम गर्न लघुवित्तले एफपीओ जारी गरेको हो।

क्रेडिट रेटिङ संस्थाले यस एफपीओलाई वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम रूपमा सुरक्षित रहेको जनाउँदै 'केयर एनपी बीबी' रेटिङ प्रदान गरेको छ।

प्रतिक्रिया