प्रधानमन्त्री केपी शर्मा ओलीसँग निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियासहितका पदाधिकारीहरूले आइतबार भेट गरी आगामी मंसिर १६ गतेका लागि स्थानीय तहको उपनिर्वाचनको मिति तोक्न नेपाल सरकारलाई सिफारिस गरेका छन्।
हाल स्थानीय तहका जिल्ला समन्वय समितिका दुई प्रमुखसहित ४१ जनप्रतिनिधिको बाँकी कार्यकालका लागि उपनिर्वाचनको तयारी भइरहेको छ।
भेटमा प्रधानमन्त्री ओलीले प्रस्तावको अध्ययनपछि नेपाल सरकारले यथाशीघ्र मिति तोक्ने भन्दै, निर्वाचनलाई मितव्ययी, स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण ढंगले सम्पन्न गर्न आग्रह गरेका छन्।
यस अवसरमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विश्नुप्रसाद पौडेल, गृहमन्त्री रमेश लेखक, मुख्यसचिव एकनारायण अर्याललगायतका उच्च अधिकारीहरू उपस्थित थिए।