काठमाडौं –माधव नेपालको साथ छाडेर बागमतीको मुख्यमन्त्री बनेकी अष्टलक्ष्मी शाक्यको पद धरापमा परेको छ । नेपालको नेतृत्वमा गठन भएको नेकपा(एकिकृत समाजवादी) पार्टीले शाक्यलाई साथ नदिए पछि शाक्य पदमुक्त हुनेछिन् । किनकी एक महिना भित्र विश्वासको मत लिँदा नेपाल पक्षका एक जना सांसदले मात्र असहयोग गर्दा साथ शाक्यको पद जान्छ । मुख्यमन्त्री बन्न नेकपा एकीकृत समाजबादीका नेता राजेन्द्र पाण्डेले लविङ सुरु गरेका छन् ।
नेकपा (एकीकृत समाजवादी) का नेता तथा प्रदेश सांसद राजेन्द्र पाण्डेले अष्टलक्ष्मी शाक्य नेतृत्वको वाग्मती प्रदेश सरकार छिट्टै ढल्ने दाबी गरेका छन् । एकल बहुमत रहेको एमाले फुटेर नयाँ दल दर्ता भएसँगै शाक्य नेतृत्वको प्रदेश सरकार अल्पमतमा पर्ने देखिएको समयमा पाण्डेको यस्तो अभिव्यक्ति आएको हो । सांसद पाण्डेले दल दर्ताको आधिकारिक पत्र प्रदेशसभामा आएसँगै शाक्यलाई दिएको समर्थन फिर्ता लिने बताए । ‘हामीले समर्थन फिर्ता लिएपछि यो सरकार अल्पमतमा पर्छ । विश्वासको मत लिनुपर्ने हुन्छ,’ उनले भने । शाक्य नवगठित पार्टीमा आएको खण्डमा मुख्यमन्त्री मान्न सकिन्ने र एमालेमै रहेको खण्डमा नयाँ सरकार गठनका लागि कसरत गरिने उनले बताए ।
उनले शाक्यलाई मुख्यमन्त्रीबाट प्रक्रियागत रुपमा हटाइने बताए । ‘हामीसँग प्रदेशसभाका २१ जना सदस्य छन् । अझै थप्ने कोसिस गरिरहेका छौं । यो सरकार ढल्छ । अष्टलक्ष्मीलाई बिदाइ गरिन्छ । हामी गठबन्धनमा रहेका तीनवटा पार्टी मिलेर नयाँ सरकार बनाउँछौं,’ उनले भने । उनले माओवादी र कांग्रेससँग छलफल गरेर कसको नेतृत्वमा प्रदेश सरकारमा जाने तय गरिने बताए । ‘नेतृत्व ठूलो विषय होइन । हामी गठबन्धनमा छौं । नेतृत्वको विषय सजिलै टुंगिन्छ,’ उनले थपे ।
अष्टलक्ष्मी शाक्यले केपी ओली नेतृत्वको एमाले रोज्ने घोषणा गरेसँगै पाण्डेलाई मुख्यमन्त्री बन्ने बाटो खुलेको हो । केहि दिन अघि मात्रै मुख्यमन्त्री नियुक्त भएकी शाक्यले एक महिनाभित्र विश्वासको मत लिनुपर्छ । उनले आफु केपी ओली र माधव नेपाल दुबैको सहयोगले मुख्यमन्त्री बनेको तर पार्टी फुटाउने पक्षमा आफु नरहेको बताउन थालेकी छिन् ।
सत्ता गठबन्धनमा बागमति र प्रदेश १ को मुख्यमन्त्री माधव नेपालको पार्टीलाई दिने सहमति बनेको छ । शाक्यले माधव नेपालको पार्टी रोज्दा उनी मुख्यमन्त्रीमा कायमै रहन्छिन् । तर उनले ओलीको पार्टी रोज्ने भनेकाले अब उनलाई विश्वासको मत नदिएर पदमुक्त गर्ने तयारी गठबन्धनले गरेको छ । शाक्य पदमुक्त भएसँगै पाण्डेलाई मुख्य मन्त्री बनाइनेछ । ‘अष्टलक्ष्मी कमरेडले ओलीको पार्टी रोजेपछि उहाँलाई विश्वासको मत दिएर जोगाउनुपर्ने कुनै कारण रहन्न, हामी उहाँको विकल्पका लागि तयारी अवस्थामा छौं’, माधब नेपाल पक्षका एक नेताले भने ।