सिरहामा भत्काइएका दीपक मलिकको घर प्रदेश सरकारले पुनर्निर्माण गर्ने

सिरहा— सिरहाको औरही गाउँपालिका–५ मा महायज्ञका नाममा जातीय भेदभाव गर्दै घर भत्काइएका दीपक मलिकको परिवारका लागि प्रदेश सरकारले घर निर्माण गरिदिने भएको छ। मदन भण्डारी आवास कार्यक्रमअन्तर्गत उक्त घर निर्माण हुने छ, जसका लागि मधेश सरकारले ५ लाख ६० हजार रुपैयाँ बजेट विनियोजन गरेको छ। निर्माणाधीन घरमा दुई कोठा, भान्सा र शौचालय रहने छ।

मुख्यमन्त्री सतिशकुमार सिंहले एक साताभित्रै निर्माण कार्य सुरु गर्न निर्देशन दिइसकेको बताएका छन्। मंगलबार जनकपुर पुगेर दीपक मलिकले दलित अगुवासहित आवासको माग गरेका थिए, जसपछि मुख्यमन्त्री सिंहले घर निर्माणको प्रतिबद्धता जनाएका थिए।

गत फागुन १० गते महायज्ञ सञ्चालन भइरहेको स्थानलाई अपवित्र भएको भन्दै गाउँपालिका अध्यक्ष शिवजी यादव, पूर्ववडाध्यक्ष दिलीप यादव र आयोजक बजरंगी बाबाले डोजर चलाएर मलिकको घर भत्काएका थिए। त्यसपछि मलिक परिवार गाउँबाट ५०० मिटर पर खोलाछेउ अस्थायी झुपडीमा बस्दै आएका छन्, जहाँ न त बिजुली छ, न त पिउने पानीको सुविधा।

घटना सार्वजनिक भएपछि दोषीमाथि कारबाही प्रक्रिया अघि बढेको छ। गाउँपालिका अध्यक्ष र पूर्ववडाध्यक्ष पक्राउ परिसकेका छन् भने मुख्य आयोजक बजरंगी बाबालाई प्रहरीले अझै नियन्त्रणमा लिन सकेको छैन। जातीय भेदभाव तथा छुवाछूतसम्बन्धी कसुरमा दोषीलाई तीन महिनादेखि तीन वर्षसम्म कैद तथा ५० हजारदेखि दुई लाख रुपैयाँसम्म जरिवाना हुन सक्ने कानुनी व्यवस्था छ।

यसैबीच, बिहीबार प्रदेशसभा सदस्य सञ्जयकुमार यादवसहित सरकारी प्रतिनिधिहरू मलिक परिवार बसिरहेको अस्थायी बासस्थानमै पुगेका थिए। छलफलपछि मलिकका लागि अहिले बसोबास गरिरहेको स्थानमै ७ धुर जग्गा छुट्याइ घर निर्माण गरिने निर्णय गरिएको छ। प्रदेश सरकारले पीडित परिवारलाई बिजुली र खानेपानीको व्यवस्था गर्ने तयारीसमेत गरिरहेको छ। प्रदेशसभा सदस्य यादवका अनुसार दोषीहरू कानुनी कारबाहीको दायरामा आउनेछन्, तर पीडित परिवारको राहतका लागि सरकारले घर निर्माणको निर्णय गरेको हो। आजको कान्तिपुर दैनिकबाट

प्रतिक्रिया