दसैँ सत्य, धर्म र न्यायको विजयको प्रतीक हो : राष्ट्रपति

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले विजयादशमीको अवसरमा मुलुकमा स्थायित्व, सुशासन र समृद्धिको कामना गरेका छन्। वडादसैँ–२०८२ को अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपाली दिदीबहिनी र दाजुभाइलाई शुभकामना व्यक्त गर्दै राष्ट्रपति पौडेलले सुख, शान्ति र उत्तरोत्तर प्रगतिका लागि शुभेच्छा प्रकट गरेका हुन्।

उनले विजयादशमीलाई सत्य, धर्म र न्यायको विजयको प्रतीक भन्दै नवदुर्गा भवानीको प्रसादस्वरूप मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने परम्परा मेलमिलाप, सद्भाव र राष्ट्रिय एकताको अभिव्यक्ति भएको बताए।

राष्ट्रपति पौडेलले यस पर्वले सम्पूर्ण राष्ट्रमा शान्ति, सहकार्य र कल्याण फैलाउने विश्वास व्यक्त गर्दै दुर्गा भवानीसँग देश र जनताको समृद्धिका लागि प्रार्थना गरेका छन्। साथै उनले विजयादशमीले विश्वमै शान्ति र मानव जातिको कल्याणको सन्देश दिने आशा व्यक्त गरेका छन्।

प्रतिक्रिया