रिज लाइन इनर्जीको आईपीओ बिक्री खुला

काठमाडौं । रिज लाइन इनर्जी लिमिटेडले आजदेखि प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) खुला गरेको छ। कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि आईपीओ निष्काशन गरेको हो। पुस १३ गतेदेखि सुरु भएको आवेदन प्रक्रिया अन्तर्गत दुवै समूहका लगानीकर्ताले तोकिएको अवधिभित्र आवेदन दिन सक्नेछन्।

कम्पनीले जारी पूँजीको २२ प्रतिशत बराबरको साधारण शेयर निष्काशन गर्न अनुमति पाएको छ। सोही अनुसार कुल २६ लाख ७ हजार कित्ता शेयर निष्काशन हुँदैछ। यसमध्ये आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि ११ लाख ८५ हजार कित्ता शेयर छुट्याइएको छ। गोरखाको अजिरकोट गाउँपालिकाका सबै वडाका बासिन्दा तथा लमजुङको दुधपोखरी गाउँपालिकाका वडा नम्बर १, २ र ३ तथा दोर्दी गाउँपालिकाका वडा नम्बर ४, ५ र ६ का स्थानीयले आवेदन दिन पाउनेछन्।

यस्तै, सर्वसाधारणका लागि छुट्याइएको शेयरमध्ये १० प्रतिशत अर्थात १ लाख ४२ हजार २०० कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि सुरक्षित गरिएको छ। नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति लिई विदेशमा कार्यरत नेपालीले सि–आस्बा प्रणालीमार्फत आवेदन दिन सक्ने व्यवस्था गरिएको छ।

आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सकिनेछ। आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि छिटोमा पुस २८ गते र ढिलोमा माघ १२ गतेसम्म आवेदन दिन सकिनेछ भने वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि छिटोमा पुस १७ गते र ढिलोमा पुस २८ गतेसम्म आवेदन खुला रहनेछ।

केयर रेटिङ नेपालले कम्पनीलाई केयरएनपी डबल बी इस्यूअर रेटिङ प्रदान गरेको छ, जसले कम्पनीको वित्तीय दायित्व वहन क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ। रिज लाइन इनर्जीले सञ्चालन गरेको ९.०५ मेगावाट क्षमताको सुपर चेपे जलविद्युत आयोजना व्यवसायिक रूपमा सञ्चालनमा रहेको छ। आयोजनाबाट उत्पादित विद्युत राष्ट्रिय प्रसारण लाइनमार्फत बिक्री हुँदै आएको छ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ। स्थानीय बासिन्दाले आयोजना कार्यालय गोरखा, प्रभु क्यापिटल कमलादी तथा प्रभु बैंकका सम्बन्धित शाखाबाट आवेदन दिन सक्नेछन्। अनलाइनमार्फत आवेदन दिन चाहनेले प्रभु क्यापिटलको आईपीओ पोर्टल प्रयोग गर्न सक्नेछन्।

प्रतिक्रिया