काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत शुक्रबार र शनिबार बिहान सम्पन्न खेलहरूमा नेदरल्याण्ड्स र जर्मनीले प्रभावशाली जित हात पारेका छन्। नेदरल्याण्ड्सले स्विडेनमाथि फराकिलो जित दर्ता गर्दा जर्मनीले आइभोरी कोस्टविरुद्ध पुनरागमन गर्दै नकआउट चरणमा स्थान सुरक्षित गरेको हो।
टेक्सासको ह्युस्टन स्टेडियममा भएको समूह ‘एफ’ को खेलमा नेदरल्याण्ड्सले स्विडेनलाई ५–१ ले पराजित गर्यो। डच टोलीका फरवार्ड ब्रायन ब्रोब्बीले खेलको पाँचौँ र १७औँ मिनेटमा गोल गर्दै टोलीलाई उत्कृष्ट सुरुआत दिलाएका थिए।
दोस्रो हाफमा कोडी गाक्पोले ४७औँ र ५४औँ मिनेटमा लगातार दुई गोल थपेपछि नेदरल्याण्ड्स ४–० को बलियो अग्रतामा पुगेको थियो। स्विडेनका लागि ५९औँ मिनेटमा एन्थोनी एलाङ्गाले सान्त्वना गोल फर्काए पनि ८९औँ मिनेटमा क्रिसेन्सियो समरभिलले गोल गर्दै नेदरल्याण्ड्सको ५–१ को जित सुनिश्चित गरे।
यता, क्यानडाको टोरन्टो स्टेडियममा भएको समूह ‘ई’ को खेलमा जर्मनीले आइभोरी कोस्टलाई २–१ ले पराजित गर्यो। खेलको ३०औँ मिनेटमा फ्र्याङ्क केसीले गोल गर्दै आइभोरी कोस्टलाई अग्रता दिलाएका थिए।
पहिलो हाफमा १–० ले पछि परेको जर्मनीले दोस्रो हाफमा उत्कृष्ट पुनरागमन गर्यो। ६०औँ मिनेटमा मैदान प्रवेश गरेका डेनिस उन्दाभले ६८औँ मिनेटमा गोल गर्दै खेललाई बराबरीमा ल्याए। निर्धारित समय सकिनै लाग्दा इन्जुरी समयको ९३औँ मिनेटमा उन्दाभले व्यक्तिगत दोस्रो गोल गर्दै जर्मनीलाई २–१ को रोमाञ्चक जित दिलाए।
यस जितसँगै नेदरल्याण्ड्सले समूह ‘एफ’ मा आफ्नो स्थिति थप बलियो बनाएको छ भने जर्मनीले लगातार दोस्रो जित निकाल्दै विश्वकपको नकआउट चरणमा स्थान पक्का गरेको छ।