काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को अनुसन्धानमा रहेका दीपक भट्ट, सुलभ अग्रवाल, शेखर गोल्छालगायतविरुद्ध एकै दिन तीन फरक अदालतमा मुद्दा दायर गरिएको छ।
बिहीबार जिल्ला अदालत काठमाडौं, उच्च अदालत पाटन र विशेष अदालतमा छुट्टाछुट्टै मुद्दा दर्ता गरिएको हो।
जिल्ला अदालत काठमाडौंमा बीमा ऐन, २०७९ अन्तर्गत आर्थिक हिनामिना गरेको आरोपमा शेखर गोल्छा, दीपक भट्ट, सुलभ अग्रवालसहित ४२ जनाविरुद्ध मुद्दा दायर भएको छ। त्यस्तै, धितोपत्र सम्बन्धी ऐन, २०६३ अनुसारको कसुरमा ८१ जनाविरुद्ध अर्को मुद्दा पनि दायर गरिएको छ।
यता, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले दीपक भट्ट र सुलभ अग्रवालविरुद्ध विशेष अदालतमा सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा दर्ता गरेको छ।
त्यसैगरी उच्च अदालत पाटनमा दीपक भट्ट, साहिल अग्रवाल, सुलभ अग्रवाल र शंकरलाल अग्रवालविरुद्ध बैंकिङ कसुरसम्बन्धी मुद्दा दायर गरिएको छ।
उनीहरूमाथि नेपालको धितोपत्र बजारमा संगठित रूपमा कृत्रिम कारोबार गरी सेयर मूल्यमा चलखेल गरेको आरोप लगाइएको छ।
प्रतिवादीमध्ये दीपक भट्ट र सुलभ अग्रवाल हाल सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको हिरासतमा रहेका छन्। साहिल अग्रवाल फरार रहेका छन् भने शंकरलाल अग्रवाल अनुसन्धानका क्रममा पक्राउ परेपछि हाजिरी जमानीमा रिहा भएका थिए। शेखर गोल्छा भने सर्वोच्च अदालतको आदेशपछि बन्दी प्रत्यक्षीकरण रिटमार्फत छुटेका हुन्।