प्रधानमन्त्रीको भूमिकामाथि गगन थापाको प्रश्न, ‘यस्तो बेला सबैलाई जोड्नुपर्थ्यो’

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले सुनसरीमा विकसित पछिल्लो घटनाक्रमका बीच प्रधानमन्त्री बालेन शाहको भूमिकामाथि प्रश्न उठाउँदै यस्तो संवेदनशील अवस्थामा प्रधानमन्त्रीले सबै राजनीतिक दललाई एकै ठाउँमा ल्याएर नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने बताएका छन्।

बुधबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा सिंहदरबारमा बसेको सर्वदलीय बैठकमा बोल्दै थापाले प्रधानमन्त्रीले सर्वदलीय बैठक बोलाउने, राष्ट्रपति, प्रदेश सरकार तथा स्थानीय तहसँग संवाद गर्ने र सरकारका प्रयासबारे सबैलाई जानकारी गराउने अपेक्षा गरिएको बताए। उनले भने, “सरकार अभिभावक मात्र होइन, नेतृत्वकर्ता पनि हो। उसले सबैलाई विश्वासमा लिएर अघि बढ्नुपर्छ।”

थापाले सर्वदलीय बैठक आयोजना गरेकोमा रास्वपा सभापति रवि लामिछानेलाई धन्यवाद दिँदै सरकार यतिबेला के गरिरहेको छ भन्ने प्रश्न उठाए। उनले सरकार गोली, लाठी र सामाजिक सञ्जालको अभिव्यक्तिमा मात्रै सीमित हुन नहुने टिप्पणी गरे।

उनले भूकम्प र कोरोना महामारीजस्ता राष्ट्रिय संकटका बेला राजनीतिक दलहरू मतभेद बिर्सेर साझा प्रयासका लागि एक ठाउँमा उभिएको स्मरण गर्दै अहिले पनि त्यही प्रकारको एकता आवश्यक रहेको बताए।

सुनसरी घटनाबारे कांग्रेसका सांसदहरूले संसदमा विषय उठाउने जानकारी दिँदै थापाले घटनाको निष्पक्ष छानबिन हुनुपर्नेमा जोड दिए। उनले मधेशमा हुने घटनामा विगतदेखि नै अत्यधिक बल प्रयोग हुँदै आएको उल्लेख गर्दै यस विषयमा राज्यले आत्मसमीक्षा गर्नुपर्ने बताए।

प्रधानमन्त्रीले सबै पक्षलाई जोड्ने प्रयास गरे कांग्रेसले सरकारलाई पूर्ण सहयोग गर्ने स्पष्ट पार्दै थापाले सामाजिक सद्भाव कायम राख्न आफ्नो पार्टीले जिम्मेवार भूमिका निर्वाह गरिरहेको बताए।

सुनसरीको देवानगञ्ज क्षेत्रमा दुई पक्षबीच भएको झडपका क्रममा प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएको थियो भने झडपमा एक दर्जनभन्दा बढी व्यक्ति घाइते भएका छन्। सर्वदलीय बैठकमा प्रारम्भमै आफ्नो धारणा राखेर निस्किएका थापाले वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधनपछि बोलाइएको नेपाली कांग्रेसको आकस्मिक केन्द्रीय समिति बैठकमा सहभागी हुनुपर्ने भएकाले बैठकबाट बाहिरिएको बताएका छन्।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय