एमालेसँग सहकार्यमा गल्ती भयो: माओवादी अध्यक्ष पुष्पकमल दाहाल

काठमाडौँ — माओवादी अध्यक्ष पुष्पकमल दाहालले एमालेसँग विगतमा सहकार्य गर्नु गल्ती भएको बताएका छन्। वाग्मती प्रदेशका केन्द्रीय सदस्य र पदाधिकारीसँगको परामर्श बैठकमा बुधबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा दाहालले उक्त धारणा व्यक्त गरेका हुन्।

दाहालले कांग्रेससँगको सहकार्य लामो समय टिक्न नसक्ने ठहर गरेर वाम एकताका लागि एमालेसँग सहकार्य गरेको तर एमाले अध्यक्ष केपी शर्मा ओलीको नियत बुझ्न नसकेको बताए। उनले भने, "मित्रहरूले ओलीको जिम्मा लिन्छौं भनेपछि पत्याएँ, तर एमालेसँग गठबन्धन गर्नु गल्ती भयो।"

ओलीले धोका दिएको भन्दै दाहालले वामपन्थी एकताको आवश्यकता अझै रहेको बताए। "विचार मिल्नेहरूसँग वाम एकता गर्नु आवश्यक छ," दाहालले थपे। आम निर्वाचनपछि कांग्रेसले प्रधानमन्त्री पदमा धोका दिएपछि एमालेसँग सहकार्य गरेको उल्लेख गर्दै, अहिलेको कांग्रेस-एमाले गठबन्धनको पछाडि त्यही कारण रहेको बताए।

दाहालले माओवादी पार्टीले सरकार बनाउन अग्रसर नभएको तर सरकार आफैं माओवादीलाई खोज्नुपर्ने धारणा राखे। "सरकारमा छैनौं तर सदनमा छौं। हाल सरकारमा जाने हतार गर्दैनौं, तर जानै हुँदैन भन्ने कुरा पनि सही होइन," दाहालले भने।

बुधबारदेखि दाहालसहित पदाधिकारीको उपस्थितिमा सातै प्रदेशको एकमहिने अभियान वाग्मती प्रदेशबाट सुरु भएको छ। बैठकमा दाहालले पार्टी एकता र आलोचनात्मक सुझावलाई समेटेर राजनीतिक प्रतिवेदन तयार गर्ने योजना रहेको बताए। बैठकमा केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीहरूले पार्टीमा विधि र पद्धतिको अभावका कारण नीतिभन्दा नेताहरू हावी भएको टिप्पणी गरेका छन्।

प्रतिक्रिया