काठमाडौँ । प्रकाश सपुत ले आफू पुनः कलाकारितामा सक्रिय रूपमा फर्किने घोषणा गरेका छन्। शनिबार सामाजिक सञ्जालमार्फत लामो स्टाटस लेख्दै उनले अब मनोरञ्जन क्षेत्रमा केन्द्रित हुने बताएका हुन्।
उनले लेखेका छन्, “अब म ढुक्कले जनतालाई मनोरञ्जन दिन चाहन्छु। बाल मस्तिष्कले बोकेको सामाजिक र राजनीतिक चेतको भारी बिसाएर केवल इन्टरटेनर बन्न चाहन्छु।”
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट समानुपातिक सूचीमा प्रस्तावित भए पनि अन्तिम सूचीमा नअटेका सपुतले सांसद बन्न नपाए पनि आफूलाई कुनै गुनासो नरहेको स्पष्ट पारेका छन्।
राजनीतिमा लाग्नुको आफ्नो उद्देश्यबारे प्रष्ट पार्दै उनले निर्वाचनपछि ‘म छुटेँ’ भन्ने महसुस भए पनि त्यसलाई स्वाभाविक रूपमा लिएको बताएका छन्। “छोटो तयारीबीच उत्कृष्ट नम्बर लिएर पास भएको विद्यार्थी जस्तै फुरुङ्ग भएको छु, कुनै गुनासो छैन,” उनले उल्लेख गरेका छन्।
यद्यपि उनले राजनीति पूर्ण रूपमा छाडेको भने स्पष्ट घोषणा नगरे पनि अब कलाकारितामै सक्रिय रहने संकेत दिएका छन्। साथै, उनले पार्टी सभापति रवि लामिछाने सँग भएको संवादसमेत आफ्नो पोस्टमा उल्लेख गरेका छन्।
यसअघि नै कलाकारितामा फर्किने संकेत गरिसकेका सपुतले आगामी चैत १७ (मार्च ३१) मा आयरल्याण्ड मा आयोजना हुने ‘चैते दसैं म्युजिक कन्सर्ट’ मा प्रस्तुति दिने तयारीमा छन्। उक्त कार्यक्रम बागलुङ समाज आयरल्याण्डको आयोजनामा हुँदैछ।
त्यस्तै, उनी अभिनीत फिल्म परालको आगो को प्रचारप्रसारमा पनि सक्रिय हुनेछन्। उक्त फिल्म वैशाख ११ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको छ।