काठमाडौं—दसैँ अवधिमा राजधानी बाहिरिने सार्वजनिक यातायातलाई नागढुंगा–सिस्ने सुरुङमार्गमार्फत मात्रै सञ्चालन गर्ने तयारी भएको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले शनिबार सिंहदरबारमा यातायात व्यवस्था विभाग, सुरक्षा निकाय र यातायात व्यवसायीसहित सरोकारवालासँगको बैठकपछि यस्तो व्यवस्था मिलाउन निर्देशन दिएका हुन्।
घिसिङका अनुसार सुरुङमार्ग सञ्चालनको अन्तिम तयारी भइरहेकाले चाडपर्वको भीडलाई सहज बनाउन यो निर्णय गरिएको हो। दशैँपछि काठमाडौं फर्किने बस र यात्रुवाहक सवारीलाई पनि यही मार्ग प्रयोग गराएर यातायात व्यवस्थापन गर्ने योजना छ।
बैठकले देशभरका सडक अवस्थाबारे २४ घण्टा निगरानी गर्न, समन्वय र व्यवस्थापनका लागि फोकल पर्सनसहित कन्ट्रोल रुम सञ्चालनमा ल्याउन सडक विभागलाई निर्देशन दिएको छ। त्यस्तै नयाँ बसपार्कसहित प्रमुख राजमार्गमा सुरक्षा कडाइ गर्न प्रहरी गस्ती बढाउने र आवश्यक परे अतिरिक्त प्रहरी परिचालन गर्न गृह मन्त्रालयलाई अनुरोध गर्ने निर्णय भएको छ।
सार्वजनिक यातायातलाई सुरक्षित र प्रविधिमैत्री बनाउन कार्यविधि तथा निर्देशिका छिट्टै तयार गरी मन्त्रालयमा पेस गर्न यातायात व्यवस्था विभागलाई पनि बैठकले निर्देशन दिएको छ।