पियोर इनर्जीको आईपीओ आजदेखि सर्वसाधारणका लागि बिक्रि खुला

काठमाडौं — पियोर इनर्जी लिमिटेडले आज (चैत २८ गते) देखि सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) निष्काशन खुला गरेको छ। आयोजनाबाट प्रभावित स्थानीयवासी र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि शेयर बाँडफाँट गरेपछि कम्पनीले अब सर्वसाधारणका लागि ११ लाख ९५ हजार २०० कित्ता शेयर बिक्रीमा ल्याएको हो। प्रत्येक कित्ता १०० रुपैयाँ अंकित मूल्यका छन्। कुल निष्काशन रकम ११ करोड ९५ लाख २० हजार रुपैयाँ बराबर रहेको छ।

यसअघि कम्पनीले जारी पूँजीको २ प्रतिशत अर्थात १ लाख ६० हजार कित्ता आयोजना प्रभावित स्थानीयलाई, १ लाख ४४ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीलाई, ७२ हजार कित्ता सामूहिक लगानी कोषका लागि र २८ हजार ८०० कित्ता कर्मचारीको नाममा निष्काशन गरी बाँडफाँट गरिसकेको छ।

सर्वसाधारण लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम १ लाख कित्ता सम्मको आवेदन दिन सक्नेछन्। आईपीओ छिटोमा २०८२ बैशाख २ गते र ढिलोमा बैशाख ११ गते बन्द हुनेछ।

कम्पनीलाई केयर रेटिङ नेपालले ‘CARE NP BB+ (Is)’ रेटिङ प्रदान गरेको छ, जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको जनाउँछ।

पियोर इनर्जीले १० मेगावाट क्षमताका दुईवटा सौर्य पीभी विद्युत आयोजना ब्लक १ र ब्लक २ निर्माण गरिरहेको छ। ब्लक १ को कुल लागत १ अर्ब २५ करोड ४७ लाख र ब्लक २ को लागत १ अर्ब १७ करोड ६ लाख रुपैयाँ रहेको छ। ब्लक १ ले २०७७ पुस २ र ब्लक २ ले २०७७ मंसिर २९ मा विद्युत उत्पादन अनुमति पाएको थियो। दुबै आयोजनाको अनुमति अवधि २० वर्ष ११ महिना बाँकी रहेको छ। साधारण लगानी फिर्ता हुने अवधि ८.१२ वर्ष र छुट मूल्यमा लगानी फिर्ता हुने अवधि १२.४२ वर्ष रहेको छ।

शेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ। इच्छुक लगानीकर्ताले सि-आस्बा सदस्य बैंक तथा वित्तीय संस्था, तिनका शाखा तथा 'मेरो शेयर' अनलाइन प्रणाली प्रयोग गरी आवेदन दिन सक्नेछन्।

प्रतिक्रिया