गाडीमा गजल,सायरी लेख्न मनाही, लेखिएकोपनि धमाधम मेटाउँदै ट्राफिक प्रहरी

काठमाडौं - ट्राफिक प्रहरीले गाडीमा लेखिएका अश्लील, अपाच्य सायरी र गजललगायत सामग्री हटाउन थालेकाे छ ।

प्रहरीले गाडीमा लेखिएका अश्लील, अपाच्य, गाली, कानुन विपरीत तथा समाजमा विकृती ल्याउने खालका साहित्यिक सायरी, कविता, गजल तथा विभिन्न भनाइ लेखहरूलाई हटाउने वा मेट्न लगाउने अभियान सञ्चालन गरेकाे हाे । 

गाडीमा लेखिएका त्यस्ता सामग्रीहरुले चालकको ध्यान माेडिइ दुर्घटना निम्त्याएको पाइएपछि अभियान नै ल्याइएकाे काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

नेपालको कानुन विपरीत महिला, बालबालिका, सिमान्तकृत समुदायलाई अपमान र अवहेलना गर्ने गरी कुनै पनि लेख रचना कविता सायरी वा कुनै पनि प्रकारका सामग्री प्रचारप्रसार गर्न वा लेख्न पाइँदैन । 

अश्लील लाग्ने र द्विअर्थी लेखहरुले सामाजिक र मानसिक खलल, हिंसा र विकृती बढाएकाे तथा सडक सभ्यतामा पनि आँच पुर्‍याएकाले त्यस्ता गतिविधि रोक्नतर्फ लागेकाे प्रहरीले जनाएकाे छ । 

त्यस्तै गाडीकाे सिसामा स्टिकर वा अन्य कुनै प्रचार सामग्री नटाँस्न पनि ट्राफिक प्रहरीले चालकहरूलाई सुसूचित गरेको छ ।

ट्राफिक प्रहरीले चालक आसपास क्याबिनमा सजावटका लागि झल्लरलगायतका सामग्री तथा म्युजिक सिस्टम राख्न पनि निषेध गरेको छ ।

प्रतिक्रिया