‘बर्थ टुरिजम’ रोक्न ट्रम्पद्वारा नयाँ आदेश, जन्मसिद्ध नागरिकतामा पनि कडाइ

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जन्मसिद्ध नागरिकता सीमित गर्ने आफ्नो प्रयासलाई नयाँ स्वरूपमा अघि बढाएका छन्। अमेरिकी सर्वोच्च अदालतले केही साताअघि उनको अघिल्लो प्रयासलाई रोक लगाएपछि ट्रम्पले बिहीबार दुई नयाँ कार्यकारी आदेशमा हस्ताक्षर गरेका हुन्।

नयाँ आदेशमध्ये पहिलोले अमेरिकामा जन्मिएका केही बालबालिकाले स्वतः अमेरिकी नागरिकता प्राप्त नगर्ने अवस्थाको दायरा विस्तार गरेको छ। दोस्रो आदेशले ‘बर्थ टुरिजम’ अर्थात् बच्चालाई अमेरिकी नागरिकता दिलाउने उद्देश्यले अमेरिका पुगेर सुत्केरी हुने अभ्यासलाई नियन्त्रण गर्ने व्यवस्था अघि सारेको छ।

ह्वाइट हाउसको ओभल अफिसबाट आदेश सार्वजनिक गर्दै ट्रम्पले जन्मसिद्ध नागरिकताको व्यवस्था परिवर्तन गर्ने काम धेरै वर्षअघि नै हुनुपर्ने दाबी गरे। उनले यसअघि आफूले जारी गरेको आदेशलाई सर्वोच्च अदालतले रोक लगाएकोप्रति असन्तुष्टि पनि व्यक्त गरे।

पहिलो कार्यकारी आदेशअनुसार दुवै अभिभावक अमेरिकी नागरिक नभएको अवस्थामा तीमध्ये एक जना विदेशी आतंकवादी समूहसँग आबद्ध, विदेशी सरकारका कर्मचारी, जालसाजीमार्फत अमेरिकी नागरिकता लिन प्रयास गरेका व्यक्ति वा संघीय कानुनअनुसार स्वतः नागरिकता नदिइने अमेरिकी भूभागमा बसोबास गर्ने व्यक्ति भएमा त्यस्ता शिशुले स्वतः अमेरिकी नागरिकता प्राप्त नगर्ने व्यवस्था गरिएको छ।

आदेशमा अमेरिकाको उदार आप्रवासन प्रणालीको दुरुपयोग गर्दै विदेशी पक्षले लाभ लिन खोजेको दाबी गर्दै त्यसलाई रोक्न आवश्यक रहेको उल्लेख गरिएको छ। ट्रम्प प्रशासनले विशेषगरी रुस र चीनका नागरिकले जन्मसिद्ध नागरिकताको व्यवस्थाको दुरुपयोग गर्दै अमेरिकामा प्रभाव विस्तार गर्न खोजेको आरोप लगाउँदै आएको छ।

ट्रम्पले बिहीबार अमेरिकामा हरेक वर्ष ठूलो संख्यामा बालबालिका ‘बर्थ टुरिजम’मार्फत जन्मिने दाबी गरे पनि गैरदलीय अनुसन्धान संस्था माइग्रेसन पोलिसी इन्स्टिच्युटका अनुसार यस्तो संख्या वार्षिक करिब २२ हजारदेखि २६ हजारको बीचमा रहेको अनुमान छ। संस्थाले सन् २०२४ मा विदेशी ठेगाना भएका आमाबाट अमेरिकामा करिब ९ हजार ६ सय शिशु जन्मिएको सरकारी तथ्यांकसमेत उल्लेख गरेको छ।

ह्वाइट हाउसका उपप्रमुख तथा होमल्यान्ड सुरक्षा सल्लाहकार स्टिफन मिलरले पर्यटक वा आगन्तुकका रूपमा अमेरिका प्रवेश गर्ने केही व्यक्तिको वास्तविक उद्देश्य बच्चा जन्माएर अमेरिकी नागरिकता प्राप्त गर्नु रहेको दाबी गरेका छन्। उनका अनुसार त्यस्ता बालबालिकाले पछि अमेरिकी नागरिकका रूपमा विभिन्न अधिकार र सुविधा प्राप्त गर्छन्।

मिलरले राष्ट्रपति ट्रम्पलाई आप्रवासन तथा राष्ट्रियता ऐनअन्तर्गत अमेरिका प्रवेशमा प्रतिबन्ध निर्धारण गर्ने अधिकार रहेकाले ‘बर्थ टुरिजम’ रोक्न सक्ने तर्क गरेका छन्।

ट्रम्पले सन् २०२५ मा दोस्रो कार्यकाल सुरु गरेलगत्तै अमेरिकी संविधानको १४औँ संशोधनले सुनिश्चित गरेको जन्मसिद्ध नागरिकता अन्त्य गर्ने कार्यकारी आदेश जारी गरेका थिए। त्यसविरुद्ध परेको मुद्दामा अमेरिकी सर्वोच्च अदालतले गत जुनमा आदेश कार्यान्वयनमा रोक लगाउँदै जन्मसिद्ध नागरिकताको व्यवस्था यथावत् रहने निर्णय गरेको थियो।

त्यसपछि ट्रम्पले सर्वोच्च अदालतको निर्णयलाई ‘अन्यायपूर्ण र गलत’ भन्दै फरक कानुनी उपायमार्फत आफ्नो लक्ष्य हासिल गर्ने बताएका छन्।

तर नयाँ आदेशका केही प्रावधान कानुनी रूपमा विवादित बन्न सक्ने कानुनविद्हरूको धारणा छ। अमेरिकी कानुनविद् गेब्रियल चिनका अनुसार राष्ट्रपति केवल बच्चा जन्माउने उद्देश्यले अमेरिका प्रवेश गर्ने व्यक्तिमाथि केही सीमा लगाउन सक्ने भए पनि अमेरिका प्रवेश गरिसकेपछि त्यहाँ जन्मिएको बच्चालाई अमेरिकी नागरिक नमान्ने अधिकार राष्ट्रपतिसँग नहुन सक्छ।

चिनका अनुसार ‘बर्थ टुरिजम’ अमेरिकामा हुने कुल जन्मको तुलनामा निकै सानो हिस्सा हो र यसलाई असामान्य प्रकृतिको घटना मानिन्छ।

प्रतिक्रिया