सेयर बजार दोहोरो अंकले घट्यो, कारोबार रकम ५ अर्बमा सीमित

काठमाडौँ । सेयर बजार परिसूचक नेप्से बुधबार दोहोरो अंकले घटेको छ। नेप्से परिसूचक १३.३५ अंकले घट्दै २६३५.९४ विन्दुमा पुगेको छ। बजारमा निरन्तर दबाब देखिँदा लगानीकर्ताको मनोबल कमजोर बनेको देखिएको छ।

बजारसँगै कारोबार रकममा पनि गिरावट आएको छ। ३२३ कम्पनीका करिब १ करोड ६ लाख कित्ता सेयर खरिदबिक्री हुँदा कुल कारोबार रकम ५ अर्ब १७ करोड रुपैयाँमा सीमित भएको छ। अघिल्लो कारोबार दिन ७ अर्ब रुपैयाँभन्दा बढीको कारोबार भएको थियो।

आजको कारोबारमा ६२ कम्पनीको सेयर मूल्य बढेको छ भने १८७ कम्पनीको मूल्य घटेको छ। १० कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ। सूचकका आधारमा ट्रेडिङ र फाइनान्स बाहेक सबै समूह घटेका छन्।

होटल तथा उत्पादनमूलक समूहमा १ प्रतिशतभन्दा बढी गिरावट देखिएको छ भने अन्य समूहमा सामान्य घटबढ मात्र देखिएको छ। नाफाका आधारमा नारायणी विकास बैंकको सेयर मूल्य ६.०८ प्रतिशतले बढेको छ भने एसवाई प्यानलको सेयर मूल्य ८.४५ प्रतिशतले घटेको छ।

कारोबार रकमका आधारमा एसवाई प्यानल शीर्ष स्थानमा रह्यो। यस कम्पनीको २६ करोड ९४ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ। त्यसपछि श्रीनगर एग्रोटेक र मञ्जुश्री फाइनान्सको कारोबार क्रमशः उच्च रहेको छ।

प्रतिक्रिया