शेयर लगानीकर्ताबाट मङ्सिरमा १ अर्ब बढी पुँजीगत लाभकर संकलन

काठमाण्डौ – चालु आर्थिक वर्ष २०८१/८२ को पाँचौँ महिनामा शेयर लगानीकर्ताबाट १ अर्ब ४ करोड ६ लाख रुपैयाँभन्दा बढी पुँजीगत लाभकर संकलन भएको छ। मङ्सिर महिनामा व्यक्तिगत र संस्थागत लगानीकर्ताबाट यो लाभकर संकलन गरिएको हो।

व्यक्तिगत लगानीकर्ताले तिरेको दीर्घकालीन पुँजीगत लाभकर ३१ करोड ११ हजार रुपैयाँ रहेको छ भने अल्पकालीन पुँजीगत लाभकर ६४ करोड २७ लाख रुपैयाँ पुगेको छ। कुल पुँजीगत लाभकरमा अल्पकालीन लाभकरको हिस्सा ६१.७६ प्रतिशत रहेको छ।

संस्थागत लगानीकर्ताबाट मङ्सिर महिनामा ८ करोड ७२ लाख पुँजीगत लाभकर संकलन गरिएको छ। यसबाहेक, स्टक डिलरहरूले ६ लाख २ हजार रुपैयाँ पुँजीगत लाभकर तिरेका छन्।

मङ्सिरमा लाभकर संकलनमा वृद्धि
मङ्सिरमा पुँजीगत लाभकर ३७.१४ प्रतिशतले बढेको छ। २०८१ कार्तिक महिनामा ७५ करोड ८७ लाख पुँजीगत लाभकर संकलन भएको थियो। असोजमा दशैँ विदा, संविधान दिवस, र इन्द्र जात्राका कारण मात्र १६ दिन शेयर कारोबार हुँदा ५८ करोड ६५ लाख पुँजीगत लाभकर संकलन भएको थियो।

साउन र भदौमा उल्लेखनीय लाभकर संकलन
२०८१ भदौमा लगानीकर्ताले २ अर्ब ५७ करोड ९४ लाख पुँजीगत लाभकर तिरेका थिए। साउन महिनामा भने यो संख्या ४ अर्ब २३ करोड ५३ लाख रुपैयाँ पुगेको थियो, जुन चालु आर्थिक वर्षकै सबैभन्दा बढी हो।

यो आर्थिक वर्षको लाभकर संकलनले शेयर बजारमा लगानीकर्ताको सहभागिता र कारोबारको गतिलाई झल्काउने देखिन्छ।

प्रतिक्रिया