काठमाण्डौ – शेयर बजार आज पनि घटेर दुई हजार पाँच सय ९६ दशमलव ८२ विन्दुमा झरेको छ। नेप्से परिसूचक आज ३१ दशमलव ४३ अङ्कले घटेको हो, जसका कारण नेप्से झन्डै साढे दुई महिनापछि २६ सय विन्दुमुनि पुगेको छ। यसअघि, असोज १६ गते नेप्से २६ सय विन्दुमुनि झरेको थियो।
आज सबै समूहका शेयर ओरालो लागेका छन्। विशेषगरी, विकास बैंक, फाइनान्स, होटल, जलविद्युत्, बीमा, र व्यापार समूहका शेयर उच्च अङ्कले घटेका छन्। नारायणी विकास बैंकको शेयरमा नौ प्रतिशतभन्दा धेरैको गिरावट आएको छ। तर, समग्र बजार घटेको दिन सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्थाको शेयर १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ।
आजको कारोबार रकम भने सामान्य रूपमा बढेको देखिन्छ। हिजो चार अर्ब २७ करोड रुपैयाँको शेयर किनबेच भएको थियो भने आज ३१० वटा कम्पनीका ९८ लाख ३२ हजार कित्ता शेयर चार अर्ब ७६ करोड रुपैयाँमा किनबेच भएका छन्।