काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले मुलुकको आर्थिक विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको निजी क्षेत्रलाई पूर्ण सुरक्षा प्रदान गर्न सरकार प्रतिबद्ध रहेको स्पष्ट पारेकी छन्। नेपाल उद्योग वाणिज्य महासंघद्वारा आयोजित ‘शान्ति, स्थायित्व र समृद्धिको लागि सहकार्य’ विषयक सर्वपक्षीय राष्ट्रिय संवाद कार्यक्रममा बोल्दै उनले निजी क्षेत्रको संरचनात्मक सुरक्षा र लगानी अनुकूल वातावरण बनाउने दिशामा सरकार गम्भीर रहेको बताइन्।
उनले ढलेका उद्योग तथा कलकारखानाहरू पुनर्निर्माण भएपछि पुनः क्षति नहोस् भन्ने ग्यारेन्टी सरकार दिन तयार रहेको उल्लेख गर्दै उद्यमी तथा व्यवसायीहरूलाई ढुक्क भएर लगानी गर्न आह्वान गरिन्। करदाता, सेवा प्रदायक, बजार निर्माणकर्ता र राजस्व संकलनमा योगदान पुर्याउने उद्यमीहरूको हक, अधिकार र व्यवसायिक स्वतन्त्रताको सरकारले सम्मान गर्ने उनको भनाइ थियो।
प्रधानमन्त्री कार्कीले लुटपाट, तोडफोड, आगजनी, बन्द–हड्तालजस्ता गतिविधिलाई निरुत्साहित गर्दै उद्योग, कलकारखाना, प्रतिष्ठान तथा निजी आवाससमेतको सुरक्षा सुनिश्चित गर्न आवश्यक सबै कदम चालिने बताइन्। यसबारे मन्त्रिपरिषद्का सदस्यहरूसँग आवश्यक छलफल गरी ठोस निर्णय लिइने पनि उनले स्पष्ट पारिन्।
साथै, उनले फागुन २१ गतेभित्र निर्वाचन सम्पन्न गर्न सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको दोहो¥याउँदै सबै पक्षको सहकार्य अपेक्षा गरिन्।