काठमाडौं – नुम्बुर हिमालय हाइड्रोपावर लिमिटेडले प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) गर्नका लागि नेपाल धितोपत्र बोर्डमा अनुमति माग गरेको छ। कम्पनीले पुस ७ गते बोर्डमा आवेदन दिएको हो।
नुम्बुरले प्रिमियमसहित प्रति शेयर २१८ रुपैयाँमा ३० लाख ६ हजार २ सय २ कित्ता शेयर निष्काशन गर्ने प्रस्ताव गरेको छ। बोर्डबाट स्वीकृति पाएपछि कम्पनीले आईपीओ जारी गर्नेछ। यस आईपीओको बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल रहेको छ।
कम्पनी एमभी दुगड ग्रुपअन्तर्गत पर्दछ र रामेछाप तथा सोलुखुम्बु जिल्लामा पर्ने लिखु खोलामा २४.२ मेगावाट क्षमताको लिखु ए जलविद्युत आयोजना सञ्चालन गर्दै आएको छ। आयोजनाले २०२२ फेब्रुअरी ८ देखि व्यापारिक उत्पादन सुरु गरेको हो। लिखु ए आयोजनाका लागि २४.२ मेगावाटको "टेक अर पे" र ४.८४ मेगावाटको "टेक एण्ड पे" गरी कुल २९.०४ मेगावाट बिजुलीको पावर खरिद सम्झौता (पीपीए) भइसकेको छ।
यस कम्पनीका अध्यक्ष मोतीलाल दुगड हुन्।