काठमाडौं । नेकपा (एमाले) ले दीर्घकालीन राष्ट्रिय हित, स्थायित्व र समृद्धिलाई केन्द्रमा राखेर अघि बढ्ने प्रतिबद्धता दोहोर्याएको छ। पार्टीका प्रेस संयोजक मीनबहादुर शाहीले जारी गरेको विज्ञप्तिमा तीव्र आर्थिक वृद्धि, सामाजिक न्याय, सुशासन, पारदर्शिता र राष्ट्रिय स्वाभिमानको सुदृढीकरणमार्फत देशलाई समृद्ध बनाउने लक्ष्य लिइएको उल्लेख गरिएको छ।
विज्ञप्तिमा लोकतान्त्रिक अभ्यास र दीर्घकालीन राष्ट्रिय हितमाथि क्षणिक तथा भावनात्मक लोकप्रियताले असर पार्न सक्ने भन्दै त्यसप्रति सचेत रहन आग्रह गरिएको छ। लोकप्रियतावाद प्रायः भ्रमपूर्ण हुने र यसले नीति निर्माण, स्थायित्व तथा सुशासनमा नकारात्मक प्रभाव पार्ने जोखिम रहने पार्टीको भनाइ छ।
एमालेले रेमिट्यान्स, ज्ञान, सीप, अनुभव र अन्तर्राष्ट्रिय सञ्जालमार्फत विदेशमा रहेका नेपालीहरूले मातृभूमिप्रति देखाएको प्रतिबद्धतालाई राष्ट्र निर्माणको महत्वपूर्ण आधार मानेको छ। आगामी निर्वाचनलाई लक्षित गर्दै विदेशमा रहेका नेपालीलाई पार्टीसँग जोडिन, आफ्ना परिवार र समुदायमार्फत सकारात्मक जनमत निर्माण गर्न तथा निर्वाचन प्रक्रियामा आवश्यक सहयोग गर्न आह्वान गरिएको छ।
राष्ट्रिय हित, लोकतन्त्रको सुदृढीकरण र समृद्ध नेपालको लक्ष्य प्राप्तिका लागि देशभित्र र बाहिर रहेका सबै नेपालीको ऐक्यबद्धता आवश्यक रहेको विज्ञप्तिमा उल्लेख छ। साथै, युवालाई राजनीति केवल आलोचना वा असन्तोष व्यक्त गर्ने माध्यमका रूपमा नभई समाधान, नवप्रवर्तन र विकासको प्रभावकारी औजारका रूपमा लिन आग्रह गरिएको छ। युवाको सक्रिय सहभागिता बिना समृद्धिको अभियान सफल हुन नसक्ने भन्दै नीति, नेतृत्व र अवसरको संगममार्फत अघि बढ्ने प्रतिबद्धता एमालेले जनाएको छ।