काठमाडौं : विन नेपाल लघुवित्तको एफपीओ आइतबार (वैशाख ७ गते) बाँडफाँट हुने भएको छ। बिक्री प्रबन्धक एसबीआई मर्चेन्ट बैंकिङका अनुसार आइतबार बिहान ८ बजे आफ्नै कार्यालय ठमेल, काठमाडौंमा एफपीओ बाँडफाँट गर्ने तयारी गरिएको हो।
विन नेपाल लघुवित्तको एफपीओ हात पार्न भने भाग्यकै भरपर्नुपर्नेछ। यसमा मागभन्दा ४५५.९१ गुणा बढी आवेदन परेको छ। त्यसैले एफपीओ गोलाप्रथाबाट बाँडफाँट गरिनेछ।
कुल १९ लाख ७४ हजार ७०९ जनाले २ करोड ३३ लाख ८४ हजार ५२० कित्ताका लागि आवेदन दिएका छन्। तीमध्ये ५ हजार १२९ जनाले मात्र सेयर हात पार्नेछन् भने १९ लाख ६९ हजार ५८० जना भने सेयरबाट वञ्चित हुनेछन्।
कम्पनीले चैत २१ गतेदेखि २६ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँको दरमा ५१ हजार २९२ दशमलव ५० कित्ता सेयर निष्कासन गरेको थियो। बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा ९ अनुसार सर्वसाधारणको पुँजी संरचना ३० प्रतिशत पुर्याउन लघुवित्तले एफपीओ जारी गरेको हो।
क्रेडिट रेटिङ संस्था केयर नेपालले विन नेपाल लघुवित्तको एफपीओलाई एनपी सिंगल बी इस्यूअर रेटिङ प्रदान गरेको छ। यसले लघुवित्तको वित्तीय दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ। यो रेटिङ २०८१ चैत ८ गते दिइएको हो र २०८२ फागुन २२ गतेसम्म मान्य रहनेछ।