अमर माविको ६०औँ वार्षिक उत्सव विविध कार्यक्रमसहित सम्पन्न

काठेखोला गाउँपालिका–५ मा रहेको अमर माध्यमिक विद्यालयले स्थापना भएको ६० वर्ष पूरा गरेको अवसरमा चार दिनसम्म विविध कार्यक्रम आयोजना गरी वार्षिक उत्सव तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न गरेको छ। विद्यालयले आफ्नो ६०औँ बसन्त पार गरेको उपलक्ष्यमा शैक्षिक, सांस्कृतिक तथा सिर्जनात्मक गतिविधिहरू सञ्चालन गरेको हो।

उत्सवको पहिलो र दोस्रो दिन विद्यालयस्तरीय अतिरिक्त क्रियाकलापहरू आयोजना गरिएका थिए भने तेस्रो दिन अन्तर आधारभूत विद्यालयस्तरीय रनिङशील हाजिर जवाफ प्रतियोगिता सम्पन्न गरिएको थियो। उक्त प्रतियोगितामा करलिम आधारभूत विद्यालय प्रथम, नवयुवक आधारभूत विद्यालय द्वितीय र अमृतपानी आधारभूत विद्यालय तृतीय भएका थिए। ६०औँ वार्षिकोत्सवको पूर्वसन्ध्यामा विद्यालय परिसरमा दीपावलीसमेत गरिएको थियो।

अन्तिम दिन बिहान सरस्वती पूजा आयोजना गरिएको थियो भने दिउँसो मूल समारोह सञ्चालन गरिएको थियो। मूल समारोहका अवसरमा विद्यालय परिसरमा निर्माण गरिएको स्टेज र पानीको फोहरा उद्घाटन गरिएको थियो। साथै विद्यालय स्थापनादेखि हालसम्मका गतिविधिहरू समेटिएको इतिहासमा आधारित वृत्तचित्र विद्यालय व्यवस्थापन समितिमा प्रिमियर गरी युट्युबमार्फत सार्वजनिक गरिएको छ।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापकले आर्थिक वर्ष २०८१/८२ को १९ पृष्ठ लामो प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। प्रतिवेदन विद्यालयको वेबसाइटमा राखिएको उल्लेख गर्दै प्रधानाध्यापकले अभिभावक तथा शिक्षाप्रेमीहरूबाट सकारात्मक सुझावको अपेक्षा गरिएको जानकारी दिनुभयो।

उत्सवका अवसरमा शैक्षिक सत्र २०८१ का उत्कृष्ट शिक्षकका रूपमा गणेश पोख्रेल, उत्कृष्ट अभिभावकका रूपमा कल्पना परियार र सहयोगदाताका रूपमा अर्जुन कँडेलको परिवारलाई सम्मान गरिएको थियो। कार्यक्रममा विद्यार्थी, पूर्वविद्यार्थी, पूर्व प्रधानाध्यापक, पूर्व व्यवस्थापन समिति अध्यक्ष, समाजसेवी, शिक्षक तथा अक्षयकोषदाताहरूले शुभकामना मन्तव्य राखेका थिए।

कार्यक्रमका प्रमुख अतिथि काठेखोला गाउँपालिकाका अध्यक्ष राजु थापाले आफ्नो कार्यकालमा विद्यालयलाई आवश्यक सहयोग गर्दै आएको र आगामी दिनमा पनि निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। कार्यक्रम विद्यालयका सहायक प्रधानाध्यापक गणेशप्रसाद कँडेलको सञ्चालन, व्यवस्थापन समिति अध्यक्ष ज्ञामनाथ कँडेलको सभापतित्व र शिक्षक शंकरप्रसाद कँडेलको स्वागत मन्तव्यसहित सम्पन्न भएको थियो।

प्रतिक्रिया