काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले आर्थिक वर्ष २०८२/८३ मा पहिलोपटक बाह्रै महिना विद्युत् निर्यात गर्दै १८ अर्ब ७६ करोड ५० लाख रुपैयाँको व्यापार बचत हासिल गरेको छ। स्वदेशी विद्युत् उत्पादनमा वृद्धि र चैत–वैशाखमा समेत पर्याप्त वर्षा भएपछि निर्यात बढ्दा आयात भने उल्लेख्य रूपमा घटेको हो।
प्राधिकरणको प्रारम्भिक तथ्यांकअनुसार गत आर्थिक वर्षमा नेपालले भारत र बंगलादेशमा तीन अर्ब ८७ करोड ७४ लाख ९२ हजार युनिट विद्युत् निर्यात गरी २९ अर्ब ३२ करोड ४७ लाख रुपैयाँ आम्दानी गरेको छ। यो अघिल्लो आर्थिक वर्षको १७ अर्ब ४७ करोड १० लाख रुपैयाँको तुलनामा ६७.८४ प्रतिशतले बढी हो।
त्यसै अवधिमा भारतबाट १० अर्ब ५५ करोड ९९ लाख रुपैयाँ बराबरको मात्र विद्युत् आयात गरिएको छ। यो अघिल्लो आर्थिक वर्षको तुलनामा १८.२९ प्रतिशतले कम हो। यससँगै विद्युत् व्यापारबाट नेपालले १८ अर्ब ७६ करोड ५० लाख रुपैयाँको खुद बचत गर्न सफल भएको छ, जुन अघिल्लो वर्षको ४ अर्ब ५४ करोड ८० लाख रुपैयाँको तुलनामा करिब चार गुणा बढी हो।
नेपालले बर्खायाममा भारततर्फ एक हजार मेगावाटभन्दा बढी तथा बंगलादेशतर्फ ४० मेगावाटसम्म विद्युत् निर्यात गर्दै आएको छ। यसअघि नदी प्रवाहमा आधारित जलविद्युत् आयोजनाका कारण सामान्यतया बर्खायाममा मात्र निर्यात हुने गरे पनि गत वर्ष चैत र वैशाखमा समेत पर्याप्त वर्षा भएकाले बाह्रै महिना निर्यात सम्भव भएको हो।
नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता राजन ढकालले वार्षिक ५ सयदेखि ६ सय मेगावाटसम्म नयाँ विद्युत् उत्पादन थपिँदै गएकाले आन्तरिक खपतपछि बाँकी विद्युत् निर्यात गर्ने क्रम निरन्तर बढिरहेको बताए। उनका अनुसार आगामी वर्षहरूमा पनि निर्यात र त्यसबाट हुने आम्दानी अझै वृद्धि हुने अपेक्षा गरिएको छ।
हिउँदमा नदीमा पानीको बहाव घट्दा केही विद्युत् भारतबाट आयात गर्नुपर्ने अवस्था रहे पनि नयाँ जलविद्युत् आयोजना सञ्चालनमा आएपछि आयातको परिमाण र खर्च दुवै घट्दै गएको प्राधिकरणको तथ्यांकले देखाएको छ। नेपालले व्यावसायिक रूपमा भारतमा विद्युत् निर्यात २०७८ कात्तिकदेखि सुरु गरेको हो भने २०८१ कात्तिकदेखि बंगलादेशमा पनि ४० मेगावाट विद्युत् निर्यात गर्दै आएको छ।