काठमाण्डौ । सरकारी कर्मचारीहरूबाट शेयर बजारमा बढ्दो लगानीलाई नियन्त्रण गर्ने उद्देश्यले सरकारले कडा कदम चालेको छ। यस क्रममा, सरकारले आइतबारदेखि नै सम्पूर्ण सरकारी कार्यालयहरूलाई ट्रेड म्यानेजमेन्ट सिस्टम (टीएमएस) प्रयोग नगर्न कडा निर्देशन जारी गरेको छ।
यसअघि भदौ २१ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मन्त्रिपरिषद्को कार्यालयलाई पत्र लेख्दै कुनै पनि सरकारी कार्यालयमा टीएमएस प्रयोग नगर्न आदेश दिएको थियो। सोही आधारमा, आइतबार देशभरका संघीय, प्रादेशिक, र स्थानीय निकायअन्तर्गतका सरकारी कार्यालयहरूलाई टीएमएस सेवा प्रयोग नगर्न निर्देशन दिइएको थियो। साथै, यसको उल्लङ्घन भएमा कडा कारबाहीको चेतावनी पनि दिइएको छ।
स्मरण रहोस्, नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले सन् २०१८ को नोभेम्बर ६ तारिखदेखि टीएमएस प्रणाली लागू गर्दै शेयर तथा अन्य धितोपत्र कारोबारको सुरुवात गरेको थियो। अहिले लगानीकर्ता तथा कारोबारीहरू सेयर किनबेचका लागि यही टीएमएस प्रणाली प्रयोग गर्दै आएका छन्।