मुुलुकभर बाढीको वितण्डा,१६ जनाको ज्यान गयो


काठमाडौं–मुलुकका विभिन्न भागमा भारी वर्षासँगै बाढीपहिरोमा परी १६ जनाको ज्यान गएको छ । पहिरोले घर पुर्दा, घर भत्किँदा र बाढीले बगाएर १६ जनाको मृत्यु भएको जिल्लास्थित संवाददाताले जनाएका हुन्। बझाङमा पहिरोले घर पुरेपछि २३ जना बेपत्ता छन्। 


वर्षाले जनजीवन पनि प्रभावित भएको छ । बाढीपहिरोका कारण विभिन्न बस्ती डुबान र जोखिममा परेका छन्। बाढीपहिरोका कारण विभिन्न स्थानमा यातायात र सञ्चार सेवा अवरुद्ध भएको खबर छ। बाढीपहिरोबाट सयौं परिवार विस्थापित भएका छन्।   अविरल वर्षापछि डोटी जिल्लाका विभिन्न स्थानमा घर भत्किँदा आठजनाको मृत्यु भएको छ । जोरायल गाउँपालिका–४, सयगडामा मंगलबार दिउँसो दुई घर भत्किँदा पाँचजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ। 


सयगडामा ४२ वर्षीय शेरबहादुर विकको घर भत्किँदा उनी, उनका १८ वर्षका छोरा मोहन, १२ वर्षकी छोरी पवित्राको मृत्यु भएको छ। मामाघर आएका १६ वर्षका रविन विकको पनि घरले च्याँपेर मृत्यु भएको छ। घटनाबारे पूर्ण विवरण आइनसकेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक रविन्द्र चन्दले जानकारी दिए। 

यसैगरी, सोही ठाउँमा पहिरोले घर पुर्दा ६२ वर्षका जोगी सार्कीको मृत्यु भएको जनाइएको छ। उनकी पत्नी घाइते भएकी छन्। त्यस्तै, मंगलबार दिउँसो पहिरोसँगै आएको ढुंगाले लागेर शिखर नगरपालिका–११ की ३६ वर्षीया एक महिलाको मृत्यु भएको छ। उनको उपचारका क्रममा दिपायलस्थित सुजंग अस्पतालमा मृत्यु भएको हो ।


डोटीकै सायल गाउँपालिका– ६ मा सोमबार राति पहिरोले घर पुर्दा वीरबहादुर कुन्जेडाका छोरा १४ वर्षीय सागर र ११ वर्षीय आशिषको मृत्यु भएको थियो। सो घटनामा तीनजना घाइते भएका छन् । डडेल्धुराको गन्यापधुरा गाउँपालिका–१ भातकाँडामा पहिराले घर पुर्दा ३२ वर्षीय विष्णुु अवस्थीको मृत्यु भएको छ। बैतडीको शिवनाथ गाउँपालिका–६ मा पहिरोले घर बगाउँदा ३ जनाको मृत्यु भएको छ।  


१८ वर्षीया पवित्रा पार्की, २४ वर्षीय भानु पार्की र ३ वर्षीय सोम पार्कीको पहिरोमा पुरिएर मृत्यु भएको प्रहरीले जनाएको छ। पहिरोमा परी ५ जना घाइते भएका छन् ।
यस्तै बझाङको थलारा गाउँपालिका डिक्लाको सितल भन्ने स्थानमा पहिरोले ७ घर पुर्दा २३ जना बेपत्ता भएको स्थानीयले बताएका छन। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता विक्रम चन्दले मंगलबार बिहान ५ बजेतिर उक्त स्थानमा पहिरो जाँदा सार्की थरका १९ परिवारको घर र पार्की थरका ५ परिवारको घरमा क्षति पुगेको बताए। उनका अनुसार सात घर पहिरोले पूरै पुरेको छ। विस्थापितलाई स्थानीय विद्यालयमा राखिएको छ ।


यसैगरी कैलालीमा ३ जना बेपत्ता भएका छन्। लम्कीचुहा नगरपालिका वडा नं. ३ का ६१ वर्षीय खड्कबहादुर घर्तीमगर, ३५ वर्षीय विक्रम घर्तीमगर र २६ वर्षीय खड्क रानामगर कर्णालीमा माछा मार्ने क्रममा बेपत्ता भएको प्रहरीले जनाएको छ।  विभिन्न बस्तीमा बाढी पस्दा हजारभन्दा बढी नागरिक विस्थापित भएका छन्। महाकाली नदीको बाढी बस्तीमा पस्दा दोधारा चाँदनीका कुतिया, कभर, शान्ती टोल, बैडीफाटा, निशान टोली र भीम दत्त नगरपालिकाका ओदाली र ऐरीमा गरी एक हजारभन्दा बढी मानिस विस्थापित भएका छन्। यसैगरी कर्णाली नदी गाउँ पसेर जानकी गाउँपालिका र टीकापुरमा सयभन्दा बढी विस्थापित भएका छन् ।

बैतडीको सिगास गाउँपालिका–५ को ढुुङ्गाडमा सेती नदीमा आएको बाढीका कारण १० परिवारका करिब ६० जना नदीको बीच भागमा फसेका छन्। उनीहरूलाई हेलिकोप्टरको सहयोगले उद्धार गर्न खोजिए पनि मौसमका कारण सफल हुन नसकेको प्रहरीले जनाएको छ ।
पहिरोका कारण सुदूरपश्चिमका पहाडी जिल्लाका सबै सडक अवरुद्ध भएका छन्। दुर्गम बस्तीमा प्रहरी पुग्न नसकेको, टेलिफोन सेवा अवरुद्ध भएको र वर्षा जारी रहेकोले बाढीपहिरोले पु¥याएको क्षतिको सबै विवरण आउन सकेको छैन। 
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता चन्दले राजमार्ग अवरुद्ध हुदाँ दर्जनौं सवारीसाधन र सयौं यात्रु अलपत्र परेको बताए। डोजर लगाएर सडक खोल्ने कार्य भइरहेको तर लगातारको वर्षाले पुनः अवरुद्ध हुने समस्या आएको उनले बताए । कर्णालीमा पनि वर्षाका कारण जनजीवन प्रभावित भएको छ। पहिरोले घर पुर्दा कालिकोटको महावै गाउँपालिका–७, राम्नीमा १८ वर्षीया स्मृति अधिकारीको मृत्यु भएको छ। यसैगरी, जुम्लामा हिमा नदीको बाढीले बगाएर ल्याएका दाउरा निकाल्ने क्रममा हिमा गाउँपालिका–६ की ३३ वर्षीया रम्ता शाहीको बगेर मृत्यु भएको छ ।

अविरल वर्षाका कारण धरान उपमहानगरपालिका–१३ नागेश्वर मार्गमा पहिरोले एक घर पुरिँदा २ जनाको ज्यान गएको छ। स्थानीय निसान राईको घर मंगलबार दिउँसो करिब २ बजेतिर पहिरोले पुरिँदा भित्र खेलिरहेका ८ वर्षकी छोरी निसु र ४ वर्षका छोरा निहानको मृत्यु भएको हो।  करिब डेढ घण्टापछि प्रहरी, सशस्त्र प्रहरीलगायतको टोलीले घटनास्थलबाट दुईजनाको शव निकालेको थियो। वर्षा भइरहेकाले उद्धारमा ढिलाइ भएको थियो।  


इलाका प्रहरी कार्यालय धरानका डिएसपी नरेन्द्र कुँवरका अनुसार दुवैजनालाई मृत अवस्थामा निकालिएको थियो। ‘दुवै शव निकालेर बिपी प्रतिष्ठान पठाएका छौं, दुवैको मृत्यु भइसकेको छ,’ डिएसपी कुँवरले भने। पहिरो खस्दा घरमा आमाबुवा पनि थिए। उनीहरू सशकुल छन्। डाँडो काटेर राई परिवारले एकतले घर बनाएका थिए। कुनातिरको डाँडोबाट पहिरो खसेर घर पुरिएको थियो।  


प्रहरीका अनुसार पहिरोबाट अन्य २ घर पनि जोखिममा छन्। ती घरका मानिसलाई सुरक्षित स्थानमा सारिने प्रहरीले जनाएको छ। ‘थप २ घर जोखिममा छन्, ती घरका मानिसलाई छिमेकीको घरमा बस्न भनेका छौं,’ वडा १३ स्थित अस्थायी प्रहरी चौकीका एक जवानले मोबाइल सम्पर्कमा भने। 
घटनास्थलमा नेपाल रेडक्रस सोसाइटी सुनसरीको टोली पुगेको छ। विस्थापित परिवारलाई आवश्यक त्रिपाललगायत राहत सामग्री पठाइएको रेडक्रस सुनसरीका सभापति उमेश थापाले जानकारी दिए ।
 

प्रतिक्रिया