काठमाडौं । साताको पहिलो कारोबार दिन सोमबार सेयर बजारमा पुनः गिरावट देखिएको छ। अघिल्लो बिहीबार ८.९७ अंकले उकालो लागेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सूचक आज ८.१६ अंकले घट्दै २६६२.९१ विन्दुमा झरेको हो। सूचकसँगै कारोबार रकममा पनि कमी आएको छ।
आज ३३५ कम्पनीका १ करोड ९६ लाख १६ हजार ३९५ कित्ता सेयर किनबेच हुँदा कुल ७ अर्ब ९४ करोड २७ लाख ६० हजार रुपैयाँ बराबरको कारोबार भएको छ। अघिल्लो कारोबार दिन ३३७ कम्पनीका २ करोड ७७ लाख कित्ता सेयर ११ अर्ब १० करोड रुपैयाँमा कारोबार भएको थियो।
सोमबार वित्त, होटल तथा पर्यटन र उत्पादन तथा प्रशोधन समूहका उपसूचक सामान्य बढेका छन् भने अन्य सबै समूह ओरालो लागेका छन्। जलविद्युत समूह सबैभन्दा धेरै १.०२ प्रतिशतले घटेको छ।
बजार घटेपनि ८६ कम्पनीको सेयर मूल्य भने बढेको छ। तीन कम्पनीमा सकारात्मक सर्किट लागेको छ। बुद्धभुमी नेपाल हाइड्रोपावर, रिलायन्स स्पिनिङ मिल्स र सालपा विकास बैंकको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएको हो।