काठमाडौँ । पछिल्ला तीन–चार वर्षयता मुलुकको अर्थतन्त्र सुस्त बन्दै जाँदा यसको असर ठूला वाणिज्य बैंकमा मात्र होइन, साना फाइनान्स कम्पनीहरूमा पनि गहिरोसँग देखिन थालेको छ। आर्थिक गतिविधि कमजोर हुँदा ऋण असुली प्रभावित बनेको र त्यसको प्रत्यक्ष असर फाइनान्स कम्पनीहरूको गैर बैंकिङ सम्पत्ति तीव्र रूपमा बढ्नुमा देखिएको छ।
२०८० असार मसान्तयता दुई वर्षको अवधिमै फाइनान्स कम्पनीहरूको गैर बैंकिङ सम्पत्ति झन्डै तीन गुणा बढेको छ। दुई वर्षअघि करिब १ अर्ब ११ करोड ४० लाख रुपैयाँ रहेको यस्तो सम्पत्ति हाल बढेर ३ अर्ब ८ करोड ४० लाख रुपैयाँ पुगेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको मासिक प्रतिवेदनअनुसार गएको असारमा गैर बैंकिङ सम्पत्ति अझ बढेर करिब ३ अर्ब ९ करोड १० लाख रुपैयाँ पुगेको थियो।
गैर बैंकिङ सम्पत्ति वृद्धिमा विशेष गरी तीन वटा फाइनान्स कम्पनीको योगदान बढी देखिएको छ। गुडविल फाइनान्स, गोर्खाज फाइनान्स र पोखरा फाइनान्सले कुल गैर बैंकिङ सम्पत्तिको झन्डै ४८ प्रतिशत हिस्सा ओगटेका छन्। ऋणीहरूले समयमा ऋण नतिरेपछि धितोमा राखिएको घरजग्गा तथा अन्य सम्पत्ति सकार्दा यस्तो सम्पत्ति बढ्ने गरेको हो।
धितोमा आएको यस्ता सम्पत्ति बिक्री नभएसम्म फाइनान्स कम्पनीहरूले त्यसबाट आम्दानी देखाएर लाभांश वितरण गर्न पाउँदैनन्। पछिल्लो समय घरजग्गा कारोबार सुस्त हुँदा लिलाम प्रक्रिया प्रभावकारी हुन नसकेको र त्यसकै कारण संस्थाहरूले धितो सकार्ने क्रम बढेको देखिन्छ, जसले गैर बैंकिङ सम्पत्ति झनै फुलाउँदै लगेको छ।
वित्तीय क्षेत्रमा यस्तो सम्पत्ति अत्यधिक बढ्नु संस्थाको वित्तीय अवस्था कमजोर बन्दै गएको संकेतका रूपमा हेरिन्छ। बैंकरहरूका अनुसार नेपाली वित्तीय प्रणालीले एक दशकअघिको भूकम्पयता निरन्तर झट्का खप्दै आएको छ। भूकम्पपछि नाकाबन्दी, त्यसपछि कोभिड महामारी, सहकारी र लघुवित्त क्षेत्रमा देखिएको समस्या हुँदै पछिल्लो समय जेन जी आन्दोलनसम्म आइपुग्दा समस्याहरू थपिँदै गएको उनीहरूको भनाइ छ।
धितो मूल्यांकनदेखि कागजात प्रक्रियासम्म वाणिज्य बैंकको तुलनामा केही सहज नीति अपनाउँदै आएका फाइनान्स कम्पनीहरू अहिले यही कारणले बढी दबाबमा परेका छन्। गैर बैंकिङ सम्पत्ति बढ्दै जाँदा नगद प्रवाहमा समस्या देखिन थालेपछि फाइनान्स कम्पनीहरू अब सरकार र केन्द्रीय बैंकको ध्यानाकर्षण गराउँदै ती सम्पत्ति बिक्री गरी नगदमा रूपान्तरण गर्न सहजीकरणको माग गर्न थालेका छन्।