काठमाडौं । जोर्डनमा इरानले गरेको ब्यालेस्टिक मिसाइल तथा ड्रोन आक्रमणमा दुई अमेरिकी सैनिकको मृत्यु भएको छ भने एक सैनिक अझै बेपत्ता रहेको अमेरिकी सैन्य अधिकारीहरूले पुष्टि गरेका छन्।
अमेरिकी सेन्ट्रल कमाण्ड (सेन्टकम) का अनुसार आक्रमणमा घाइते भएका चार सैनिकलाई उपचारका लागि जोर्डनका अस्पतालमा भर्ना गरिएको थियो। सामान्य घाइते भएका केही सैनिक भने उपचारपछि पुनः ड्युटीमा फर्किएका छन्। सुरक्षा र मृतकका परिवारको सम्मानलाई ध्यानमा राख्दै अमेरिकी सेनाले मृतकको पहिचान तथा घटनास्थलको विस्तृत विवरण सार्वजनिक गरेको छैन।
यस घटनापछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्देशनमा अमेरिकी सेनाले शनिबार राति इरानमाथि पुनः हवाई आक्रमण गरेको छ। सेन्टकमका अनुसार लगातार आठौँ रात गरिएको कारबाहीको उद्देश्य हर्मुज जलडमरूमध्यमा व्यावसायिक जहाजहरूको सुरक्षामा चुनौती दिइरहेका इरानी सैन्य क्षमतालाई कमजोर बनाउनु हो।
सेन्टकमले जारी गरेको विज्ञप्तिमा अघिल्लो रात जोर्डनमा अमेरिकी सैनिकमाथि आक्रमण गर्ने इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स (आईआरजीसी) सम्बद्ध शक्तिलाई तत्काल जवाफ दिन सैन्य कारबाही गरिएको उल्लेख गरिएको छ।
गत जुनमा अमेरिका र इरानबीच भएको युद्धविराम एक महिना नपुग्दै भंग भएपछि पछिल्लो एक सातादेखि दुवै देशबीचको तनाव फेरि चर्किएको छ। अमेरिकाले इरानी बन्दरगाहमाथि पुनः नाकाबन्दी लागू गरेको छ भने त्यसको जवाफमा इरानले हर्मुज जलडमरूमध्य पूर्ण रूपमा बन्द गरेको जनाएको छ।