नवआगन्तुक विद्यार्थीका लागि न्यू समिट कलेजको भव्य अभिमुखीकरण तथा स्वागत समारोह

काठमाडौं। न्यू समिट कलेजले शैक्षिक सत्र २०८३/८४ मा कक्षा ११ मा भर्ना भएका नवआगन्तुक विद्यार्थीहरूको स्वागत तथा अभिमुखीकरण कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ।

मंगलबार काठमाडौंको भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबमा आयोजित कार्यक्रममा विद्यार्थी, अभिभावक, शिक्षक तथा कलेज परिवारको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रमको उद्घाटन कलेजका चेयरमेन तथा त्रिभुवन विश्वविद्यालयका एसोसिएट प्रोफेसर अजय प्रसाद ढकालले पानसमा दीप प्रज्वलन गरेर गरेका थिए।

स्वागत मन्तव्य राख्दै कलेजका एकेडेमिक डाइरेक्टर तीर्थराज घिमिरेले शिक्षाको उद्देश्य केवल शैक्षिक सफलता हासिल गर्नु नभई असल, जिम्मेवार र मानवीय नागरिक निर्माण गर्नु रहेको बताए। उनले केही समयअघि भएको आत्मदाहको घटनाको प्रसंग उल्लेख गर्दै संकटका बेला तमासा हेर्ने वा भिडियो बनाउने होइन, पीडितको उद्धारमा अग्रसर हुने संस्कार विद्यार्थीमा विकास हुनुपर्नेमा जोड दिए।

घिमिरेले न्यू समिटमा अनुभवी, पूर्णकालिक र दक्ष शिक्षकहरूको टोली रहेकाले विद्यार्थीको भविष्य सुरक्षित र सक्षम हातमा रहेको विश्वास व्यक्त गरे।

कार्यक्रमका प्रमुख अतिथि तथा कलेजका चेयरमेन अजय प्रसाद ढकालले विद्यार्थीहरूलाई हरेक दिन आफूलाई अझ उत्कृष्ट बनाउने लक्ष्यका साथ अघि बढ्न प्रेरित गरे। उनले कलेजले अवलम्बन गरेको ‘४ डी’—अनुशासन, समर्पण, दृढसंकल्प र विकास—को अवधारणाले विद्यार्थीलाई ज्ञानसँगै सीप, नेतृत्व क्षमता र सकारात्मक सोच विकास गर्न सहयोग पुग्ने बताए।

कलेजका प्रिन्सिपल चोकराज दवाडीले कलेजले शैक्षिक उपलब्धिसँगै विद्यार्थीको सर्वाङ्गीण व्यक्तित्व विकासलाई प्राथमिकतामा राख्दै आएको बताए। उनले न्यू समिटबाट ठूलो संख्यामा डाक्टर, इन्जिनियर, वकिल तथा अन्य विभिन्न क्षेत्रमा सफल जनशक्ति उत्पादन भएको उल्लेख गर्दै विद्यार्थीहरूको स्वास्थ्यलाई मध्यनजर गर्दै पोषणविद्को निगरानीमा दैनिक चार पटक स्वास्थ्यवर्द्धक भोजन उपलब्ध गराइँदै आएको जानकारी दिए।

अर्का एकेडेमिक डाइरेक्टर प्रवेश ढुंगानाले अरूसँग होइन, आफ्नै क्षमतासँग प्रतिस्पर्धा गर्दै अघि बढ्न विद्यार्थीलाई प्रेरित गरे। उनले न्यू समिट नेपालकै पहिलो बीएससी सीएसआईटी कलेज भएको उल्लेख गर्दै यस संस्थाबाट धेरै विद्यार्थी बोर्ड टपर बन्न सफल भएको बताए। प्लस–टु तहलाई करिअर निर्माणको महत्वपूर्ण आधारका रूपमा व्याख्या गर्दै उनले प्रत्येक विद्यार्थीले कम्तीमा एक पटक करिअर काउन्सिलिङ लिन आवश्यक रहेको धारणा राखे।

औपचारिक कार्यक्रमपछि सांगीतिक तथा सांस्कृतिक प्रस्तुतिले समारोहलाई थप आकर्षक बनाएको थियो। नेपाली लोकपपका चर्चित गायक रामचन्द्र काफ्लेले आफ्ना लोकप्रिय गीतहरू प्रस्तुत गर्दै उपस्थित दर्शकलाई मनोरञ्जन दिएका थिए। साथै कलेजका पुराना तथा नवआगन्तुक विद्यार्थीहरूले विभिन्न गीत, नृत्य तथा सांस्कृतिक प्रस्तुति दिएर कार्यक्रमलाई अझ उल्लासमय र स्मरणीय बनाएका थिए।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय