काठमाडौँ । लोकप्रिय गायक तथा सर्जक तेजश रेग्मीले नेपाली लोकदोहोरी क्षेत्रमा फरक–फरक धारको प्रयोग गर्दै आएका छन्। उनले आफ्ना हरेक गीतमा मौलिकता समेट्ने प्रयास गर्दै आएका छन्।
यसैबीच नयाँपनसहित भर्खरै सार्वजनिक भएको ‘पिपल बोटे दाई’ लाई दर्शक–श्रोताले मन पराइरहेका छन्। तेजशका अघिल्ला गीतभन्दा फरक धारमा तयार गरिएको यस गीतलाई निर्माण युनिटले भिडियोमार्फत प्रेमीको भावलाई उत्कृष्ट रूपमा प्रस्तुत गरेको छ।
गीतमा चर्चित गायक बसन्त थापा, तेजश रेग्मी, सुवास खत्री, बाबु कृष्ण परियार र पूर्णकला बिसीको आवाज रहेको छ। यस गीतको लय तथा शब्द सिर्जना तेजश रेग्मी आफैंले गरेका हुन्।
म्युजिक भिडियोमा बसन्त थापा, तेजश रेग्मी, हरि गिरी, बाबु कृष्ण परियार, रविना भण्डारी, रचना न्यौपाने र शिला गजुरेलको अभिनय देख्न सकिन्छ। गीतको निर्देशन रामजी लामिछानेले गरेका छन्।
गीत सार्वजनिक भएपछि ‘आर्थिक सन्देश’सँग कुरा गर्दै रेग्मीले लोकदोहोरीमा फरकपन खोज्ने दर्शकले गीतलाई अझ धेरै माया गरेको बताएका छन्।