पेट्रोलियम पदार्थको मूल्यवृद्धिसँगै यातायात व्यवसायीले आफूखुसी बढाए गाडी भाडा

पेट्रोलियम पदार्थको मूल्यवृद्धिसँगै यातायात व्यवसायीले आफूखुसी गाडी भाडावृद्धि गरेका छन् । पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनीले आजैदेखि लागू हुने गरी १५ प्रतिशत भाडा बढाएको हो ।

पेट्रोलियम पदार्थको मूल्य बढेपछि भाडा समायोजन यातायात व्यवस्था विभागले गर्नुपर्ने हो । तर, व्यवसायी आफैंले सरकारलाई समेत अटेर गरी भाडा बढाएका छन् । कम्पनीका अध्यक्ष योगेन्द्र केसीले सरकारकै कारण भाडा बढाउन बाध्य भएको बताए ।

‘हामीलाई कुनै रहर छैन । यो हाम्रो बाध्यता हो । बजारमा चरम मूल्यवृद्धि छ । यो अवस्थामा गाडी भाडामात्र सस्तो कसरी बनाउन सकिन्छ ?,’ उनले भने, ‘बन्द हड्ताल गर्नुभन्दा भाडा बढाएर यात्रुलाई सेवा दिनु उपयुक्त ठान्यौं । यसबाट परेको असरप्रति क्षमाप्रार्थी छौं ।
पृथ्वी राजमार्ग कम्पनीबाट चल्ने सबै गाडीमा भाडा बढेको छ । यसअघि चैतमा पनि कम्पनीले आफुखुसी २० प्रतिशत भाडा बढाएको थियो ।

२०६५ सालमा वैज्ञानिक भाडादर पुनरावलोकन समिति गठन भएपछि उक्त समितिको प्रतिवेदनअनुसार २ भागमा वर्गीकरण गरेर १८ तत्वका आधारमा ६५ प्रतिशत र ३५ प्रतिशत इन्धनलाई आधार बनाइएको छ ।

भाडा निर्धारण र समायोजनका लागि सरकारी समिति भए पनि समयमा काम नगरेका कारण व्यवसायीले कानुनविपरीत आफैं भाडा बढाएको बताएका छन् ।

प्रतिक्रिया