बैंक–वित्त संस्थालाई राष्ट्र बैंकको नयाँ निक्षेप प्रस्ताव आह्वान

नेपाल राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषमा रहेको ३ अर्ब ५३ करोड रुपैयाँ रकम मुद्दती निक्षेपमार्फत लगानी गर्ने भएको छ। राष्ट्र बैंकका अनुसार सो रकम ‘क’ वर्गका वाणिज्य बैंक, ‘ख’ वर्गका राष्ट्रियस्तरका विकास बैंक र ‘ग’ वर्गका राष्ट्रियस्तरका वित्त कम्पनीमा मुद्दती निक्षेपका रूपमा राखिनेछ।

यसअनुसार वाणिज्य बैंकहरूमा २ अर्ब ८२ करोड, विकास बैंकहरूमा ५२ करोड र वित्त कम्पनीहरूमा १७ करोड लगानी गरिनेछ। २३ नोभेम्बर २०२५ देखि २३ नोभेम्बर २०२६ सम्म ३६६ दिनका लागि निक्षेप राखिने व्यवस्था मिलाइएको राष्ट्र बैंकले जनाएको छ। निक्षेप लिन चाहने संस्था सञ्चालनमा आएको कम्तीमा दुई वर्ष पूरा भएको, तोकिएको न्युनतम पुँजीकोष कायम भएको, निष्क्रिय कर्जा ५ प्रतिशतभन्दा कम रहेको, तरलता न्युनतम सीमा भित्र रहेको र कर्जा–निक्षेप अनुपात नियमअनुसार रहेको हुनुपर्ने सर्त राखिएको छ।

त्यस्तै संस्थाका सञ्चालक वा प्रमुख कार्यकारी अधिकृतलाई राष्ट्र बैंकले जरिवाना गरेको भए सो जरिवाना भुक्तानी भएको कम्तीमा ६ महिना पूरा भएको हुनुपर्ने, शिघ्र सुधारात्मक कारबाहीमा परेको भए फुकुवा भएको ६ महिना पूरा भएको, समस्याग्रस्त घोषणा नभएको, र सर्वसाधारणका लागि छुट्याइएका शेयर जारी गरिसकेको हुनुपर्ने पनि सर्त उल्लेख गरिएको छ। मुद्दती निक्षेपका लागि इच्छुक बैंक तथा वित्तीय संस्थाले कात्तिक ४ भित्र राष्ट्र बैंकमा ब्याजदर प्रस्ताव पठाउनुपर्ने व्यवस्था गरिएको छ।

प्रतिक्रिया