अर्थ मन्त्रालयद्वारा बजेट लेखन समिति गठन

काठमाडौं - अर्थ मन्त्रालयले आर्थिक वर्ष २०८२/०८३ को बजेट तयारीका लागि बजेट लेखन समिति गठन गरेको छ। समितिको संयोजकमा बजेट महाशाखा प्रमुख श्रीकृष्ण नेपाल रहेका छन्। समितिमा वैदेशिक महाशाखा प्रमुख धनीराम शर्मा, राजस्व महाशाखा प्रमुख उत्तरकुमार खत्री, प्रशासन महाशाखा प्रमुख थानप्रसाद पंगेनी, आन्तरिक राजस्व विभागका उपमहानिर्देशक तिर्थ चिलुवाल र सहमहालेखा नियन्त्रक सुशीला अर्याल सदस्य रहेका छन्।

समितिको जिम्मेवारीमा बजेटको सिद्धान्त तथा प्राथमिकता निर्धारण, मन्त्रालयगत आयोजनाहरुको प्राथमिकीकरणमा सहजीकरण, बजेट वक्तव्यको मस्यौदा तयारी र नीति तथा कार्यक्रममा सुझाव प्रस्तुत गर्ने रहेको संयोजक नेपालले जानकारी दिए।

यसैबीच, अर्थ मन्त्रालयले राष्ट्रिय योजनाबाट स्रोत समितिको निर्णयअनुसार प्राप्त बजेटको सीमाभित्र रहेर चालु, पूँजीगत, वित्तीय व्यवस्था र अन्तर सरकारी वित्त हस्तान्तरणको मन्त्रालयगत सीमा तथा प्रदेश र स्थानीय तहका लागि वित्तीय हस्तान्तरणको सीमा निर्धारण गरेको छ।

आर्थिक कार्यविधि तथा उत्तरदायित्व ऐनअनुसार फागुन १५ भित्रमा आगामी आर्थिक वर्षको बजेट सीमा र बजेट तर्जुमा सम्बन्धी मार्गदर्शन पठाउने व्यवस्था गरिएको छ।

साथै, समानीकरण अनुदानको सीमा राष्ट्रिय प्राकृतिक तथा वित्त आयोगलाई, समपुरक र विशेष अनुदानको सीमा राष्ट्रिय योजना आयोगलाई, र सशर्त अनुदानको सीमा सम्बन्धित विषयगत मन्त्रालयलाई उपलब्ध गराइएको छ। राष्ट्रिय गौरवका आयोजना र मुख्य आयोजनाहरुको लागि बजेट एयरमार्क गरी पठाइएको अर्थ मन्त्रालयले जनाएको छ।

मार्गदर्शनमा बजेटको सीमाभित्र रही गुणस्तरीय आयोजना र क्रियाकलापमा बजेट प्रस्ताव गर्न तथा नयाँ आयोजना प्रस्ताव गर्दा उचित प्राथमिकता निर्धारण गर्न निर्देशन दिइएको छ।

प्रतिक्रिया