संक्रमणकालीन न्याय सम्बन्धी विधेयक प्रतिनिधिसभाबाट सर्वसम्मतिले पारित

काठमाडौं - संक्रमणकालीन न्याय (टीआरसी) सम्बन्धी विधेयक बुधबार प्रतिनिधिसभाको बैठकमा सर्वसम्मतिले पारित भएको छ।

बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०८१, प्रतिनिधिसभाको बुधबार बसेको बैठकमा सर्वसम्मतिले पारित भएको हो। कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजय कुमार चौरसियाले विधेयक पारित गर्न प्रस्ताव राखेका थिए, जसलाई सभामुख देवराज घिमिरेले निर्णयार्थ प्रस्तुत गरेपछि पारित गरियो।

प्रतिनिधिसभाबाट पारित भइसकेपछि अब यो विधेयक राष्ट्रियसभामा छलफलका लागि पठाइनेछ।

शीर्ष तीन दलको कार्यदलले विवादास्पद विषयमा सहमति जुटाएपछि कानुन, न्याय तथा मानव अधिकार समितिले विधेयकलाई सर्वसम्मत रुपमा पारित गर्दै प्रतिनिधिसभामा पेश गरेको थियो। २०७९ चैत ५ गते प्रतिनिधिसभामा प्रस्तुत गरिएको यो विधेयक २०८० वैशाख १५ गते दफावार छलफलका लागि समितिमा पठाइएको थियो।

प्रतिक्रिया